भारतसँग सिमाना जोडिएको मोरङको रङ्गेली नगरपालिकामा हालै दुर्लभ जनावर हाइना देखिएको छ। रङ्गेली नगरपालिका–४ धनपति क्षेत्रमा हाइनाको बथान देखा परेपछि स्थानीयहरू त्रसित बनेका छन्।
स्थानीयका अनुसार हाइना विगत एक सातादेखि देखिँदै आएका थिए, तर बुधबार राति ठूलो समूहमा देखा परेपछि त्रास अझ बढेको हो। रङ्गेली–५ का वडाध्यक्ष महानन्द मण्डलले यसअघि कहिलेकाहीँ एक–दुई वटा हाइना देखिँदै आएको भए पनि यो पटक बथानकै रूपमा देखिएको बताए।
उनका अनुसार भारततर्फ केही समयअघि हाइना देखिएको चर्चा चलेको थियो, तर नेपालतर्फ यो पहिलोपटक देखा परेको हो। रङ्गेलीसँग सीमा जोडिएको भारतीय गाउँ लेटीमा यसअघि पनि हाइना देखिएको बताइएको छ।
विशेष कुरा के छ भने, हाइना देखिएको स्थान कुनै घना जङ्गल नभई बाँसघारी र खेतीयोग्य क्षेत्र हो। मण्डलका अनुसार जनावर खेतबारी नजिकै घुमिरहेको अवस्थामा स्थानीयले देखेका हुन्।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले एकसाता यता हाइना देखिएको हल्ला आएको बताए। शुरूमा चितुवा भनेर सुचना आएकोमा पछि हुलिया नमिल्दा हाइना नै भएको हुनसक्ने आशंका गरिएको उनले बताए।
वन कार्यालयमा सूचना आएपछि उद्दारका लागि टोली परिचालन गरिएको भए पनि तत्काल कुनै त्यस्तो जनावर नभेटिएको जानकारी दिए। स्थानीयले दिएको सूचनाको आधारमा सम्बन्धित कार्यालयहरूका कर्मचारी परिचालन गरिएको बताए।
फेला परेको भनिएको हाइना भारततर्फ गएको स्थानीयले बताएको उनको भनाइ छ।
कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवका अनुसार नेपालमा हाइनाका केही प्रजाति पाइए पनि मोरङमा कसरी आइपुग्यो भन्नेबारे अनुसन्धान गर्न बाँकी छ।
उनले भारततर्फबाट हाइना सरेको हुन सक्ने अनुमान गरेका छन्।
Shares

प्रतिक्रिया