कोशी


प्रदेश सरकारले तीन जिल्लामा पुर्‍यायो राहत सामग्री

प्रदेश सरकारले तीन जिल्लामा पुर्‍यायो राहत सामग्री

नेपालखबर
असोज २१, २०८२ मंगलबार १६:५२, विराटनगर

कोसी प्रदेश सरकारले अविरल वर्षापछिको बाढीपहिरोका कारण जनधनको क्षति भएको तीन जिल्लामा राहत सामग्री पुर्‍याएको छ।   

लगातारको वर्षाले इलाममा सबैभन्दा धेरै मानवीय क्षति भएको थियो। ३८ जनाको ज्यान जाने गरि भएको विपदबाट विस्थापित परिवारलाई राहत  सामग्री उपलब्ध गराएको हो। झापा र मोरङका धेरै स्थानमा डुबानले जनजीवन अस्तव्यस्त बनाएको थियो। वर्षापछिको दर्जनौं घर क्षतिग्रस्त भएपछि  धेरै परिवार विस्थापित भएका छन्। 

सडक आवत जावत सहज भएका ठाउँहरूमा ट्रकमार्फत र स्थलमार्गबाट बन्द भएका स्थानहरूमा नेपाली सेनाको सहयोगमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख सदानन्द भट्टराईले जानकारी दिए। उनका अनुसार, राहतमा चामल, दाल, तेल, नुन, आलु, बेसार, त्रिपाल, कपडा, ब्ल्यांकेट, औषधि र अन्य दैनिक उपभोग्य वस्तुहरू समावेश छन्। 

सडकमा पहिरो गएपछि इलामको माङ्सेबुङ, देउमाई, सूर्योदय, माईजोगमाई र फाकफोकथुमलगायतका क्षेत्रमा मंगलबार सेनाको हेलिकप्टरमार्फत राहत पुर्‍याइएको छ। 

मोरङ र झापामा डुबान एवं कटानका कारण जनजीवन अस्तव्यस्त बनेको छ। घरवार विहीन परिवारका लागि त्रिपाल र अस्थायी आवासको व्यवस्था गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए। 

प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणको कामलाई एकसाथ अघि बढाउने नीति लिएको उनले बताए। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलाम जिल्लाको विपद्को पछिल्लो स्थितिका बारेमा जानकारी लिँदै खोज उद्दार, राहत र अवरुद्ध भएका सडकलाई सुचारु गर्ने सम्बन्धमा जिल्ला विपद् व्यस्थापन समितिसँग छलफल गरेका छन्।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरू र प्रदेशका सचिवहरूबीच विपद्पछि उत्पन्न परिस्थिति, राहत र पुनःस्थापनाका विषयमा बैठक राखेका छन्। मुख्यमन्त्री कार्कीले इलाम पुगेर बाढीपहिरो प्रभातिव क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायसँग मृतकका परिवारको अबस्था, राहतको विषयमा छलफल गरेका थिए।

उनले प्रभावित परिवारहरूलाई सान्त्वना दिँदै प्रदेश सरकार आफ्ना सीमित स्रोतसाधनभित्र रहेर सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad