बिहानको झन्डै ११ बजेको थियो। इटहरीबाट विराटनगर तर्फको राजमार्ग खाली नै थिए। साना सवारीहरू केही कार, मोटर साइकल बाहेक अरू सवारी साधनहरू बिहीबार पनि कमै मात्रामा चल्दै थिए।
निजी सवारी साधनहरू चलेको भए पनि सार्वजनिक सेवाका सवारी साधनहरू चल्न सकेका थिएनन्। अवस्था शान्तिपूर्ण नै थियो। आयल निगम नजिकै पुग्दै गर्दा एक जना व्यक्ति दगुर्दै अघि अघि थिए, दुई जना व्यक्ति उनलाई समात्न पछि पछि कुद्दै गरेको देखिए।
के भएको हो भनेर हल्लाखल्ला चल्न थाल्यो। ती व्यक्तिले नजिकैका केही व्यक्तिको घरमा पसेर लुटपाट गरेपछि स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए। अलिक अगाडी पुगेपछि उनीहरूले त पक्राउ गरे तर बुझाउने निकाय फेला परेन। अलिक अगाडी रहेको सशस्त्र प्रहरीलाई त्यस बारेमा जानकारी गराएपछि टोली त्यहाँ गएको थियो।
अहिले बेला अप्ठ्यारो समय छ। अहिले अप्ठ्यारोको मौका छोपेर केही गलत व्यक्तिहरूले फाइदा उठाइरहेका छन्। असहज अवस्थामा नेपाल प्रहरीको हिजोको जस्तो सहज पहुँच पाउन निक्कै मुस्किल छ। नेपाली सेना र सशस्त्र प्रहरीहरू अहिले सडकमा देखिएका छन्। नागरिकहरू आफैले पनि अहिले गाउँको सुरक्षा थालेका छन्। बजारमा चोर, लुटेराहरूको सक्रियता बढेपछि गाउँमा नयाँ व्यक्तिहरूको पहिचान गर्ने कामहरू भइरहेका छन्।
भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको आन्दोलन पछि कोसी प्रदेश भित्र रहेको धेरै संरचनाहरू खरानीमा परिणत भए। कुनै पनि सरकारी कार्यालय बाँकी रहेनन्। जलेका कार्यालयहरूमा अहिले कर्मचारीहरू क्षतिको अवस्थाको बारे खोजी गर्दै गरेका भेटिए।
विराटनगर महानगरपालिकामा कर्मचारीहरू बाहिर बिरक्तिएर आँखा भरी आँसु सहित आफ्नो कार्यकक्ष हेर्दै टोलाउँदै थिए। विराटनगर महानगरपालिकाको एउटा ट्याक्टरमा फोहोर सफा गर्ने काम हुँदै थियो भनेँ दमकलले आगो नियन्त्रण नै गर्दै गरेको अवस्थामा भेटियो। विराटनगर महानगरपालिकाको वित्त व्यवस्थापन, राजश्व, भौतिक पूर्वाधार न्यायिक समिति लगायत जिन्सीहरू सबै ध्वस्त भएर जलेको छ।
केही शाखाहरूमा तोडफोड भए पनि कागजात जलाइए पछि अहिले त्यहाँको सरसफाइको काम सुरु कसरी गर्ने भन्नेमा अलमल छ।
जिल्ला प्रशासन कार्यालय मोरङको अवस्था पनि उस्तै नै देखियो। मङ्गलवार आगजनी भएपछि बुधवार लुटपाट भएको यो कार्यालयमा बिहीबार भने अगाडीको गेटमा ताला लगाइएको थियो। प्रमुख जिल्ला अधिकारीको निवासमा बिहीबार पनि आगोको धुवाँ आई नै रहेको थियो। जेनजीको नाममा भएको आगजनीको क्रममा प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष, नागरिकता शाखा, राहदानी शाखा र राष्ट्रिय परिचय पत्र शाखालाई आगो लगाएर ध्वस्त बनाइएको छ। केही शाखाहरूमा तोडफोड भए पनि कागजात छन्, तर छरपस्ट, टुटे फुटेका र जलेका।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू पनि अब कसरी काम गर्ने हो भनेर रुँदै थिए। केही सरसफाइ गर्दै गरेको अवस्थामा भेटिए।
उच्च सरकारी वकिलको कार्यालयमा कर्मचारीहरू पुगेको भए पनि केही कार्यालय परिसरमा रहेको फोहोर सरसफाइ गर्न थालेका छन्। जिल्ला अदालत मोरङमा केही नेपाली सेनाहरू थिए। जिल्ला न्यायाधीश तथा वकिलहरू पनि नजिकै बसेर अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै थिए। सरसफाइ गरे पनि भित्र बसेर काम गर्न सक्ने भवन नै रहेन भन्दै थिए।
आगो लागेर बचेका तथा आगो लाग्दा लाग्दै पानी हालेर निकालिएका केही मिसिलहरू बाहिर सुकाएको अवस्थामा भेटियो। अदालत भित्र पार्किङमा राखिएका दर्जनौँ गाडीहरू जलाइएका छन्। नजिकै रहेको मालपोत, नापी, उच्च अदालत, प्रदेश खेलकुद विकास बोर्ड लगायतका कार्यालयहरू कामै नलाग्ने अवस्थामा छन्।
कोसी प्रदेश सभा कुनै कामै नलाग्ने गरी खरानी भएको छ। केही कर्मचारीहरू सडकमा प्रदेश सभाको चिन्ता गर्दै थिए, कोही भित्र आफ्नै जीवन कसरी चलाउने भन्ने सवालमा चिन्तित थिए। भित्र रहेका झन्डै एक दर्जन सवारी साधन सहित प्रदेश सभा भवन, सचिवालय भवन तथा मिडिया सेन्टर पनि ध्वस्त बनाइएको संरचना कसरी सुधार होला भनेर कर्मचारीहरू मुखामुख गर्दै थिए।
एक जना तल्लो तहका कर्मचारी भन्दै थिए, ‘दसैँको मुख थियो, तलब आउने बेला भएको थियो, बाहिर तिर्नु पर्ने धेरै छ, खै कसरी के पो गर्ने होला।’ भित्रै बस्ने ती कर्मचारीले आफ्नो कोठामा भएको सामान समेत बचाउन नसकेको गहभरि आँसु पार्दै सुनाए। नजिकैको स्वास्थ्य मन्त्रालयमा पनि आगजनी र तोडफोड भएको थियो।
एकै ठाउँमा रहेका आन्तरिक मामिला मन्त्रालय, कर्मचारी सञ्चय कोष, उद्योग कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतमा आगो लगाएर ध्वस्त बनाइएको छ। सबै संरचनाहरू कामै नलाग्ने अवस्थामा पुगेका छन्। मुख्यमन्त्री कार्यालयका सबै संरचनाहरू जलेका छन्।















Shares

प्रतिक्रिया