राजनीति


सांसदसहित तरुण दल र वाईसीएल काठमाडौँको सडकमा

सांसदसहित तरुण दल र वाईसीएल काठमाडौँको सडकमा

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १६:५२, काठमाडौँ

जेनजीको प्रदर्शनपछि अस्तव्यस्त बनेको काठमाडौँमा निषेधाज्ञा जारी छ। सडकमा नेपाली सेना छ। ठाउँमा ठाउँमा कडा जाँच पनि गरिरहेको पनि छ। 

सोमबार भएको जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो। अहिलेसम्म ३४ जनाको ज्यान गइसकेको छ। यी सबैको प्रहरीको गोली लागेर मृत्यु भएको हो। त्यसपछि नागरिक तहमा आक्रोश बढ्यो। सोहीअनुसार मंगलबार काठमाडौँ थप विध्वंशमा परिणत भयो। 

देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, संसद् भवनदेखि विभिन्न सरकारी र व्यवसायिक भवनहरू आगजनी र तोडफोडबाट ध्वस्त भए। 

प्रदर्शन नियन्त्रणबाहिर गएपछि मंगलबार रातिदेखि नै सेना परिचालन भएको थियो। शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा सारिसकेको छ। राष्ट्रपति पनि नेपाली सेनाकै सुरक्षामा छन्।  

अहिले अन्तरिम सरकार गठनको विषयमा जेनजीका प्रतिनिधिसँग प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न चरणमा छलफल गरिरहेका छन्। तर जेनजी नै विभाजित हुँदा उनीहरूले कुनै पनि नाम दिन सकेका छैनन्।  

अहिले सेनाले सरकार गठनको पहल सुरु गरेको विषयमा विरोध सुरु भएको छ। 

अहिले काठमाडौँको चाबहिलमा नेपाली कांग्रेसनिकट तरुण दलको एक समूह र कोटेश्वर-तीनकुने सडक खण्डमा नेकपा माओवादी केन्द्रनिकट भ्रातृ संगठन वाईसीएलको एक समूहले प्रदर्शन गरिरहेका छन्। वाईसीएलको अर्को समूहले काठमाडौँको बबरमहल सडक खण्डमा पनि सांसद राजन दाहालसहितको उपस्थितिमा प्रदर्शन गरिरहेका छन्। 

उनीहरूले राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संवैधानिक व्यवस्थाअनुसार अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गर्न भनेका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad