राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले आफ्नो २७औं वार्षिक साधारण सभा असोज ४ गतेको लागि तय गर्दै पुरस्कार घोषणा गरेको छ। साधारण सभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गर्दै तीन व्यक्तित्वलाई सम्मान पनि गरिने जानकारी दिइएको हो।
शनिबार विराटनगरमा बार्षिक साधारणसभामा पेस गरिने नीति, कार्यक्रम, बजेट तथा कार्यविधि निर्माण सम्वन्धी विस्तारित मञ्च तथा सम्मान पुरस्कार घोषणा कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले गत आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिए।
जसले वार्षिक लक्ष्यको ९४ प्रतिशत उपलब्धि हासिल गरेको छ। हाल संस्थामा १,८९३ सेयर सदस्य रहेका छन् भने कुल सम्पत्ति दायित्व ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको छ। आगामी आर्थिक वर्षमा यो रकम बढाएर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ।
काफ्लेले सहकारी क्षेत्रमा केही व्यक्तिको अनियमितताका कारण सम्पूर्ण सहकारीलाई राज्यले कडाइ गरेको उल्लेख गर्दै राष्ट्रसेवकलाई भने अनुशासन र पारदर्शी व्यवस्थापनकै कारण ‘नीतिको साधारण सभा’ को रुपमा अपनाइएको बताए।
साधारणसभाको अवसरमा सहकारीले तीन पुरस्कार घोषणा गरेको हो। किशोरी खतिवडा स्मृति पुरस्कार पूर्व कर्मचारी इन्दिरा रिजाल (काठमाडौँ), दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर) हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई उपलब्ध गराउने निर्णय भएको सहकारीका सचिव ओम सुवेदीले पुरस्कार घोषणा गरे। संस्थाले सदस्यहरूलाई सामाजिक उत्तरदायित्वसहित प्रोत्साहित गर्ने परम्परा अघि बढाएको बताए।
साधारणसभाले कार्यालय भवन सम्पन्न गर्ने, सेयर सदस्यता र जगेडा कोषमा वृद्धि गर्ने, शिक्षा, व्यवसाय तथा स्वास्थ्य उपचारमा सहुलियत ऋण उपलब्ध गराउने लगायतका कार्ययोजना अघि सारेको छ। राष्ट्र सेवक कर्मचारीहरूद्वारा सञ्चालित यो सहकारी संस्था उत्कृष्ट सहकारी पर्छ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्ष शालिकराम कोइराला, पेशागत महासंघ अध्यक्ष प्रकाश शर्मा, उपसिचव विनोद न्यौपानेलगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बचत संस्कृतिको प्रवर्द्धनमा राष्ट्रसेवक सहकारीले पुर्याएको योगदानको प्रशंसा गरे।
Shares

प्रतिक्रिया