कोसी प्रदेश सरकारमा पछिल्लो समय सङ्घीय सरकारबाट प्रदेशको मन्त्रालयहरूको सचिवको जिम्मेवारीमा सरुवा भएर आएका कर्मचारीहरू कतिपय आफैँ विवादमा पर्दै आएका छन् भने केही सचिवहरूलाई मन्त्रीले विवादमा तानेका छन्। प्रदेशका मन्त्रीहरूले सचिवलाई अनावश्यक विवादमा पार्ने काम भएको भन्दै पहिला मन्त्रीहरू अनुशासित हुनु पर्ने विषय उठ्न थालेको छ।
सोमबार कोसी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले चढ्दै आएको सरकारी गाडी मन्त्रीले खोसेको विषयले अहिले कोसी प्रदेश सरकारमा मात्रै हैन देशव्यापी नै चर्चा पाएको छ।
मन्त्री खगेनसिं हाङ्गामले मुख्यमन्त्री कार्यालयमा आयोजना भएको मानव अधिकार सम्बन्धी कार्यक्रममा सहभागी हुन गएका सचिव पाण्डेको गाडी खोसेका थिए। त्यसपछि यो विषय विवादित बन्दै आएको छ।
मन्त्री हाङ्गामले खोसेको गाडी अहिले मन्त्रीको कार्यकक्ष भन्दा तल राखिएको छ। सचिवको गाडी खोसेपछि विवादमा परेका मन्त्री आफ्नो गृह जिल्ला ताप्लेजुङ गएका छन्। यता, मन्त्रालयका सचिव पाण्डे बिदामा बसेका छन्। मन्त्रालयका उपसचिव पशुपति पोखरेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ।
अहिले कार्यालयमा मन्त्री र सचिव कोही पनि नहुँदा सुनसान छ। मन्त्रीको सचिवालयका कर्मचारी सचिवविरुद्ध सामाजिक सञ्जाल मार्फत गाली गलौचमा उत्रिएका
छन्। जनताको लागि काम गरिरहेको सचिवमाथि यस्तो खालको व्यवहार सहज नभएको भन्दै कर्मचारी क्षेत्रले मन्त्री हाङ्गामको व्यवहारको आलोचना गरेको छ।
सचिवको गाडी खोसेको बारेमा मन्त्री हाङगामले मङ्गलबार साँझ भिडिओ सार्वजनिक गर्दै सरुवा भएर गएको कर्मचारीलाई गाडी सुविधा दिन नसकिने भएकोले गाडी मन्त्रालयमा राखिएको बताएका छन्। साउन २६ गतेको नेपाल सरकारको निर्णयले २८ गते सरुवाको रमाना पत्र आएको र सचिव कृषि तथा पशुपन्छी मन्त्रालयको सहसचिवको रूपमा सरुवा भएर गएको मन्त्रीको दाबी छ।
उनका अनुसार ‘भाद्र १३ गते कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहने गरी प्रदेश सचिव बनेका उनी फेरि आएको हुन्। प्रदेश सचिव बन्दै गर्दा २६ गतेदेखि १३ गतेसम्म उद्योग कृषि तथा सहकारी मन्त्रालयको गाडी, चालक, आवास लगायत सचिवले उपयोग गर्दै आएको, बाहिर बाहिर हिँडेको र आफूसँग २०–२५ दिनदेखि नभेटेको उनको आक्रोश थियो।
‘कोसी प्रदेशमा १३ गते सचिवको रूपमा आएका पाण्डे अहिलेसम्म उद्योग कृषि तथा सहकारी मन्त्रालयमा खटिएको अवस्था छैन,’ उनले भने, ‘मेरो नेतृत्वमा भएको मन्त्रालयको गाडी दुरुपयोग नहोस् भन्नकालागि चालकलाई बोलाएर गाडीको चाबी जिन्सी शाखामा र गाडी मन्त्रालय परिसरमा राखिएको छ।’
उनले सुशासन कायम गर्नको लागि सचिवको गाडी आफूले खोसेको दाबी गरेका छन्।
मन्त्रीको प्रतिक्रियापछि सचिव पाण्डेले आफूले अहिलेसम्म कुनै पनि रमाना नलिएको आफ्नो सरुवा संघीय सरकारले रद्द गरेको बताएका छन्। जनताको लागि काम गर्दै आएको एक जना सचिवमाथि अन्याय भएको उनको भनाई छ। उनको सरुवाको बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयमा पनि सरुवाको रमाना बुझेको भन्ने बारेमा अहिलेसम्म जानकारी नभएको कर्मचारीले बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव (कर्मचारी महाशाखा) एकदेव अधिकारीले उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव पाण्डेले कुनै रमाना नलिएको बताए। कर्मचारी प्रशासन प्रक्रियामा चल्ने भएकोले यस्तो अवस्थामा म यो ल्याउँछु र त्यो ल्याउँछु भन्ने खालको पछिल्लो गतिविधि राम्रो नभएको उनको टिप्पणी छ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सहसचिवले पाउने सुविधा कसैले पनि रोक्न नपाउने बताए। उनले भने, ‘सहसचिवले सङ्घमा पनि र प्रदेशमा पनि जुनसुकै समयमा सवारी सुविधा पाउँछ, उहाँको विषय पनि त्यस्तै नै हो, गाडी सुविधा खोसिएको विषय गम्भीर हो।’
राज्यले दिएको सेवा सुविधा कुनै एक जना जनप्रतिनिधिलाई चित नबुझ्दा खोस्ने भन्ने विषय नै नभएको उनको भनाई छ।
पछिल्लो समय मन्त्रीको व्यवहारका कारण कर्मचारीहरू समेत मन्त्रीको कार्यकक्षमा कम जाने गरेको मन्त्रालय स्रोत बताउँछ। मन्त्रालयका एक कर्मचारीका अनुसार, मन्त्रीले मन्त्रालयमा भएका करारका कर्मचारी हटाएर आफ्ना मान्छेलाई भर्ना गर्न दबाब दिएपछि विवाद चुलिएको हो।
त्यस्तै, उपसचिवहरूको पोस्टिङको विषय लामो समयदेखि रोकिएको विषयमा पनि मन्त्रीले असन्तुष्टि जनाउँदै आएका थिए। सरुवा नै नभएका सचिवलाई सरुवा भएको भन्दै हल्ला गरेर गाडी सुविधा खोसेको भन्दै मन्त्रीको चरित्रमाथि कर्मचारीले प्रश्न उठाएका छन्।
Shares

प्रतिक्रिया