पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमालेकै कार्यकर्ता रहेको बताएकी छन्।
पार्टीसँगको सम्बन्धबारे विभिन्न प्रश्न उठिरहेका बेला उनले आफूलाई एमालेसँगको पुरानो संगठनात्मक नाता कसैले खोस्न नसक्ने दाबी गरेकी हुन्।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ। आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो।’
उनले एमालेको केन्द्रीय समितिले सदस्यता खोसेको भन्ने हल्ला असत्य भएको दाबी पनि गरिन्।
‘३५/३६ वर्षदेखि मैले पार्टीसँग निरन्तर यात्रा गरेकी हुँ’, उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेको छु। यो अधिकार कसैले खोस्न सक्दैन।’
पार्टीले उनलाई केवल ‘पूर्वराष्ट्रपति’का रूपमा मात्र लिने भन्ने अभिव्यक्तिप्रति भण्डारीले प्रत्यक्ष टिप्पणी नगरे पनि आफू कुनै पनि छलफलका लागि खुला रहेको बताइन्।
राजतन्त्र र गणतन्त्रबीचको तुलनात्मक प्रश्नमा उनले राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति पद भएको तर्क गरिन्।
उनले भनिन्, ‘जनताले निर्वाचित गरेका कोही पनि व्यक्ति त्यो पदमा जान सक्छन् र कार्यकालपछि पुनः सामान्य नागरिक जीवनमा फर्किन सक्छन्।’
यसैबीच नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भएको भेटका विषयमा भइरहेको सार्वजनिक टिप्पणीप्रति कुनै गुनासो नरहेको उनले बताइन्।
भण्डारीले भनिन्, ‘हामी पुराना साथी हौँ, भेटघाट हुनु स्वाभाविक हो। देशका शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीका विषयमा नेताहरुबीच छलफल हुनु सकारात्मक कुरा हो।’
वाम एकता सम्भावनाबारे सोध्दा उनले अहिले तत्कालै त्यस्तो बलियो आधार नदेखे पनि भविष्यमा असम्भव पनि नभएको प्रतिक्रिया दिइन्।
Shares

प्रतिक्रिया