कोशी


पूर्वमेयर द्वारिकलाल चौधरी भन्छन्ः इटहरीका वर्तमान मेयरको अक्षमताले नगरपालिका डुब्न लाग्यो

पूर्वमेयर द्वारिकलाल चौधरी भन्छन्ः इटहरीका वर्तमान मेयरको अक्षमताले नगरपालिका डुब्न लाग्यो

नेपालखबर
साउन २८, २०८२ बुधबार २१:५५, सुनसरी

इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख द्वारिकलाल चौधरीले वर्तमान मेयर हेमकर्ण पौडेलको नेतृत्वमा नगरपालिकाको अवस्था दिनदिनै कमजोर बन्दै गएको आरोप लगाएका छन्।

बुधबार पूर्व जनप्रतिनिधि, नागरिक समाज, प्राज्ञिक तथा बौद्धिक वर्गको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा चौधरीले मेयर पौडेलले समयमै बजेट पेश नगरेर नगरवासीको भविष्यसँग खेलबाड गरेको दाबी गरे। उनका अनुसार, आफूअनुकूल बजेट पास नहुने भएपछि मेयर र जनप्रतिनिधिहरूले नगरपालिकालाई जानी–जानी बजेटविहीन अवस्थाको दिशामा पुर्‍याएका छन्। 

चौधरीले वर्तमान नेतृत्वलाई अनियमिततामा संलग्न भएको आरोप लगाउँदै उपमहानगरलाई ‘कर्मचारी भर्ती केन्द्र’मा रूपान्तरण गरेको टिप्पणी गरे। उनका अनुसार, अपारदर्शी ढंगले सञ्चालन हुँदै आएको उपमहानगरपालिकाले सार्वजनिक सुनुवाइ नगरी जनताको प्रश्नबाट भाग्ने प्रवृत्ति देखाएको छ। 

उनले यसअघिका योजना अधुरै छोडेर वर्तमान जनप्रतिनिधिहरू महत्वाकांक्षी योजना र खरिद मोहमा मात्र लिप्त भएको आरोप लगाए। तत्कालीन प्रदेश सरकारको योजनामा समावेश दीर्घकालीन बाढी नियन्त्रणका लागि बाहिरी चक्रपथ (४२ किलोमिटर) रेखाङ्कन भए पनि कार्यान्वयन नभएको, टेङ्ग्रा खोला डाइभर्सन योजना र इलाका प्रहरी कार्यालय इटहरी भवन निर्माणमा उदासीनता देखाइएको उनले बताए। 

२५ शैयाको इटहरी अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने योजना पनि अघि नबढेको उल्लेख गर्दै चौधरीले विपन्न बालबालिकाको शिक्षामा पहुँच बढाउन इन्जिनियरिङ र मेडिकल अध्ययनलाई बेवास्ता गरिएको बताए।

सार्वजनिक सम्पत्ति संरक्षणमा समेत उपमहानगर चुकेको उनको आरोप छ। उनका अनुसार, बर्सौंदेखि अनधिकृत ढंगले व्यक्ति तथा संस्थाले हडपेको जग्गा पुनः प्राप्त गर्न स्थानीय सरकारले पहल गरेको छैन।

पूर्व मेयर चौधरीले आफ्नो कार्यकालमा सुरु भएका जनता पार्क, बहुजातीय संग्रहालय र मोटरेबल पुलजस्ता गौरवका आयोजनाहरू समेत हाल अलपत्र परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad