कोशी


भारतको पटनामा शंकास्पद मृत्यु भएका युवकबारे प्रदेश सांसदले गराए गम्भीर ध्यानाकर्षण

भारतको पटनामा शंकास्पद मृत्यु भएका युवकबारे प्रदेश सांसदले गराए गम्भीर ध्यानाकर्षण

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १९:४८, काठमाडौँ

कोसी प्रदेश सभाका सांसदहरूले प्रदेश र राष्ट्रिय स्तरका जनचासोका विषयमा आवाज उठाएका छन्।

शुक्रबारको प्रदेश सभाको शून्य समयमा वैदेशिक रोजगारीमा गएका युवाको रहस्यमय मृत्युदेखि सिमाना व्यापारिक नाका सञ्चालन, डेंगुको बढ्दो सङ्क्रमण, कृषिमा देखिएका समस्या र सिँचाइ अभावसम्मका विषयहरू सांसदहरूको प्राथमिकतामा परेका हुन्।  

धरान–१७ निवासी २४ वर्षीय सनम राईको भारतको पटना सहरमा शङ्कास्पद मृत्यु भएको विषयमा सांसद रमेश बस्नेतले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सनम साउन ७ गते दिल्ली रोजगारीको सिलसिलामा घरबाट हिँडेको सोही दिन बेलुकी रेल चढेपछि भोलिपल्ट बिहान पटना क्षेत्रमा घाइते अवस्थामा फेला परेको जानकारी गराए।

बस्नेतका अनुसार, जनकपुरका एक व्यक्तिले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराएपछि परिवार पटना पुगेको थियो। तर, अस्पतालले परिवार पुग्दासम्म उपचार नगरेको र अन्ततः साउन ९ गते सनमको मृत्यु भएको पुष्टि भएको उनले प्रदेश सभामा जानकारी गराए।

मृतकका साथमा रहेका दीपक राई नामक व्यक्तिको बयान फरक परेको, पोस्टमार्टम रिपोर्ट अहिलेसम्म नपुगेको र घटनाको प्रकृति हेर्दा हत्या भएको आशङ्का गरिएको पनि बस्नेतले बताए। उनले नेपाल प्रहरीले सिमापार अपराधमा अनुसन्धान गर्न नसक्ने हुँदा सङ्घीय सरकारले भारतसँग समन्वय गरी निष्पक्ष छानबिन गराउन पहल गर्न माग गरे।

प्रदेश सभा सदस्य तिलचन पाठकले पूर्वी नेपालस्थित चिवा भन्ज्याङ नाका नेपाल, भारत (सिक्किम) र चीनलाई जोड्ने सम्भावनायुक्त व्यापारिक मार्ग भएको चर्चा गर्दै यसलाई पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।

उनले १९६२ को भारत–चीन युद्धपछि यो नाका बन्द भएको स्मरण गराउँदै भने, ‘यो नाका खोलेमा कोसी प्रदेशको आर्थिक, सामाजिक, र पर्यटन विकासमा टेवा पुग्छ। उनले चिवा भन्ज्याङलाई त्रिदेशीय व्यापार नाका बनाउने सम्भावना अझै बाँकी छ।’

प्रदेश सभा सदस्य मिना श्रेष्ठले प्रदेशका विभिन्न क्षेत्रमा डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको भन्दै सरकारलाई समयमै सक्रिय भएर रोकथाम तथा नियन्त्रण गर्न आग्रह गरिन्। उनले स्वास्थ्य जनशक्ति, औषधि, तथा सरसफाइमा तत्काल ध्यान दिनुपर्ने बताइन्।

सांसद खगेश्वरी पौडेलले प्रदेशका किसानले अलैँचीमा रोग किराको समस्या झेलिरहेका र हरियो चियापत्ती भारतीय बजारमा राम्रो मूल्य पाइए पनि नेपाली उत्पादन सीमा पार लैजान नसकिएको बताइन्।  
त्यसै गरी सांसद शोभा चेम्जोङले वर्षा कम परेका कारण उर्वर जमिन बाझिँदै गएको बताउँदै सिँचाइ समस्याको स्थायी समाधानको माग गरिन्। 

डिप बोरिङ प्रणाली जडान दीर्घकालीन समस्या समाधान नभएकोले  चतरा नहरलाई गहिरो र फराकिलो बनाउन सकिने भएकोले  सरकारलाई दीर्घकालीन सिँचाइ नीतिमा केन्द्रित हुन आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad