कोशी


सहकारी कर्मचारीलाई जुत्ताको माला प्रकरणः दोषीलाई तत्काल पक्राउ गर्न माग

सहकारी कर्मचारीलाई जुत्ताको माला प्रकरणः दोषीलाई तत्काल पक्राउ गर्न माग

नेपालखबर
साउन ७, २०८२ बुधबार १६:५४, विराटनगर

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सहारा नेपाल साकोस)का कर्मचारीहरूमाथि ऋण असुलीका क्रममा भएको दुर्व्यवहारप्रति संस्थाले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

संस्थाले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएर दोषीलाई कडा कारबाहीको माग गरेको हो। 

गत असार २९ गते, आइतबारका दिन मोरङको मिक्लाजुङ गाउँपालिका–२, रचना टारका स्थानीयहरू दुर्गामाया लिम्बु र माया मगरले सहारा नेपाल साकोस सेवा केन्द्र मधुमल्लाका कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।

उनीहरूले सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने (विक) लाई ऋण असुलीका क्रममा अपशब्द गालीगलौज गर्दै हातपात र जुत्ताको माला लगाई सार्वजनिक रूपमा अपमान गरेको संस्थाले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अपमानजनक र अमर्यादित कार्यले सिङ्गो सहकारी तथा वित्तीय क्षेत्रमाथि गम्भीर आघात पुर्याएकोले खेद प्रकट गरिन्छ।’

यस्ता अवाञ्छित क्रियाकलापले कर्मचारीको आत्मसम्मान गिराउने, संस्थाको प्रतिष्ठा धुमिल बनाउने र समग्र सहकारी प्रणालीलाई नै तहसनहस बनाउने खालको भएकाले यस्ता गतिविधि नदोहोरिन कानुनी उपचार जरुरी रहेको औँल्याएको छ। दोषीलाई पत्ता लगाई कानुन बमोजिम कडा कारबाही गर्न संस्थाको माग छ। 

सहारा नेपाल साकोस झापाको बिर्तामोड–२, चारपानेमा रहेको मुख्य  कार्यालयसहित विभिन्न शाखाहरूमार्फत बचत तथा ऋण सेवा प्रदान गर्दै आएको छ।

ध्यानाकर्षण पत्र बुझाउन सेवा केन्द्र विराटनगर प्रमुख यमन निरौला, अनुगमन कार्यालय विराटनगर प्रमुख ओमप्रकाश साह, सेवा केन्द्र विराटनगर प्रमुख रमेश पौडेल, सेवा केन्द्र पुष्पलाल चोक प्रमुख दिलकुमारी राउत सहारा नेपाल साकोस एकीकृत कर्मचारी सङ्गठनका सचिव सालिकराम भट्टराई सहितको कर्मचारीहरू प्रमुख जिल्ला अधिकारी समक्ष गएर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्। 

कर्मचारीलाई दुर्व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा  किटानी जाहेरी दर्ता भए पनि प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले दोषीको खोजी कार्यलाई तीब्र बनाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad