नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री एवम् पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीन जना नेताहरूलाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ।
समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित छुट्टाछुट्टै पत्रमार्फत उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण सोधिएको छ।
पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको र विपक्षी दलका उम्मेदवारहरूलाई विजयी गराउन भूमिका खेलेको आरोप लागेपछि कारबाही प्रक्रिया अघि बढाएको हो। स्पष्टीकरण पत्र अनुसार, २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा संखुवासभामा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठ विरुद्ध संगठित रूपमा अन्तर्घात भएको उजुरी परेको थियो।
निर्वाचनका क्रममा संखुवासभाको धर्मदेवी निवासी नेता खड्काले फागुन १२ गते धर्मदेवी नगरपालिकास्थित मुडे बजारको घरदैलो कार्यक्रममा पार्टीको नीति र नेतृत्व विरुद्ध सार्वजनिक रूपमै नकारात्मक अभिव्यक्ति दिएको पत्रमा उल्लेख छ। खड्काले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई स्वीकार नगर्ने र कांग्रेसले चुनाव जित्दैन भन्दै कार्यकर्ताहरूलाई आफ्नो इच्छा अनुसार गर्न अभिव्यक्ति दिएका थिए।
यसैगरी, जिल्ला सचिव कुमार बाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखामाथि नेता दीपक खड्काकै निर्देशन अनुसार संगठन विरोधी गतिविधिमा संलग्न भएको गम्भीर आरोप लागेको छ।
उनीहरूले निर्वाचनका क्रममा आफ्ना निकट साथीहरूलाई चुनावी कार्यक्रममा उपस्थित नहुन फोन गरेको र बाहिर देखावटी रूपमा मात्र कांग्रेसको चुनाव चिह्न रुखमा मत मागे जस्तो गरी आन्तरिक रूपमा भने नेकपा एमालेको सूर्य, घण्टी र माटो चिह्नमा मतदान गर्न प्रेरित गरेको उजुरीमा उल्लेख छ। विपक्षी दलका उम्मेदवारलाई जिताउन भित्री रूपमा सक्रिय रहँदै दलको गरिमा र अनुशासनको धज्जी उडाएको दाबी अनुशासन समितिले गरेको छ।
पार्टी हित विपरीतका यस्ता गतिविधिहरू नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ को (क), (ख) (ग) र (घ) बमोजिम अनुशासन उल्लंघनको गम्भीर कसुर ठहरिने पत्रमा स्पष्ट पारिएको छ।
अनुशासन समितिले उनीहरूलाई उक्त अनुशासन उल्लंघनको कसुरमा किन सजाय नगर्ने भनी प्रश्न गर्दै, यदि कारबाही गर्नु नपर्ने कुनै मनासिब आधार वा कारण भएमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ।
तोकिएको समयभित्र चित्तबुझ्दो र न्यायसङ्गत स्पष्टीकरण प्राप्त नभएमा पार्टीको विधान बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ।

Shares

प्रतिक्रिया