कोशी


दूधकोसी थुनिएर धार फेरियो, तीन दिनपछि पुगे सीडिओ

दूधकोसी थुनिएर धार फेरियो, तीन दिनपछि पुगे सीडिओ

सुमन सुस्केरा
साउन ६, २०८२ मंगलबार २१:४४, विराटनगर

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल सिखु खोलाबाट आएको गेग्रानयुक्त बाढीले क्षति गरेको छ।

सिखु खोलाले गेग्रान सहितको लेदो र ढुङ्गा पुलकाे स्पानमा लागेर थुपार्छ। असार २६ गतेको त्यो वर्षाको कारण नदीको आधा भाग पुरिन्छ। कोसी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीले आधा भन्दा धेरै पुरिदिन्छ।

सिखु खोलाबाट बगेर आएको लेदो, ढुङ्गा र माटोले पुलको एक स्पान पुरिएको र पिलरहरू समेत बगाउने अवस्थाको विवरण सहितको फोटो थुलुङ दूधकोसी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेतले आफ्नो फेसबुकमा सार्वजनिक गर्छन्।

बाढीले पुलको आधा भाग पहिल्यै पुरिसकेको थियो भने पुनः शनिबार रातको बाढीले थप क्षति पुगेको उनले बताएका थिए। त्यसपछि यो विषय सबैको चासोको विषय बन्छ। नेपाल खबर सहितका केही मिडियाहरूले यो समाचारलाई बाहिर ल्याउँछन्, यसको पुष्टिका आधारहरू खोज्छन्, जनप्रतिनिधिहरूले यसको जोखिम तटीय क्षेत्रमा पुग्ने जानकारी दिन्छन्। 

असार २६ गतेको बाढीका कारण करिब ३०० मिटरको ताल बनेकोमा शनिबार आएको बाढीबाट त्यो करिब १ किलोमिटर टाढासम्म फैलिएको बारेमा वडाअध्यक्ष बस्नेतले जानकारी दिन्छन्।

नेपालखबरले वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष विकास भारतीसँग पनि यसको थप पुष्टि गरेपछि यो विषय बाहिर सार्वजनिक हुन्छ। सिखु खोलाको गेग्रानका कारण दूधकोसी थुनिएको विषयमा सुरक्षा निकायले भने अनभिज्ञता प्रकट गर्दै गएको थियो। निरन्तर यो विषय बाहिर आएपछि मङ्गलबार प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिका सदस्यहरू दूधकोसी पुगेको थियो। 

स्थानीय थुलुङदूधकोसी गाउँपालिकाका स्थानीय एवम् जिल्ला समन्वय समितिका सदस्य होमराज केसीले पछिल्लो दिनमा दूधकोसी थुनिएर ताल बनेको बारेमा प्रमुख जिल्ला अधिकारी अ‍नोज कुमार घिमिरे सहितको टोलीलाई जानकारी गराउँछन्। केसीले प्रमुख जिल्ला अधिकारीलाई भने, ‘यो दूधकोसीले पहिला पनि यस्तो क्षति गर्ने गरेको थियो, अहिले पनि यो सिखु खोलाले गेग्रान ल्याएर कोसीलाई केही समय थुनेको थियो, अहिले धार परिवर्तन भएर गएको छ।’ 

पानी जमेर धार परिवर्तन गर्दा समेत स्थानीयको नजिकै बसोबास नभए पनि तल्लो तटीय क्षेत्रमा यसले भोली बाढी आउँदा असर पार्ने उनले सुनाए। उनले भने, ‘माथिल्लो क्षेत्रमा समस्या छैन, ‘भोलि बाढी आउँदा तल्लो क्षेत्रमा सजग रहने गरी मिडियाले भूमिका खेलिदिन आग्रह गर्दछु।’

अर्का स्थानीय थुलुङदूधकोसी गाउँपालिका वडा नम्बर ३का भिमबहादुर राईले समेत सिखु नदीले दूधकोसी थुनिएर ताल बनेको बारेमा  सुरक्षा समितिलाई जानकारी गराए। उनको सिखु खोला र दूधकोसीको किनारमा रहेको क्रसर पानी बढेको कारण क्षति पुगेको राईले बताए। उनले आफ्नो क्रसर व्यवसाय पूर्ण रूपमा नष्ट भएको बताए।

६० लाखको कच्चा पदार्थ र मेसिनरी औजार ६५ लाखको क्षति भएको बताए। उनले पहिलो पटक असार २६ गते र दोस्रो पटक साउन ४ गते रातीको बाढीका कारण क्षति गरेको जानकारी दिए। 

थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित वातिम क्षेत्र हुँदै बग्ने दूधकोसी नदी तथा हालै क्षति पुगेको मोटरेवल पुलको अनुगमन  प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले मिडियाले गलत हल्ला चलाएको भन्दै फर्किए।

प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘सिखुखोलामा आएको बाढीले दूधकोसी नदीमा गेग्रान थुपार्दा नदीले केही धार भने परिवर्तन गरेको छ। केही क्षेत्रमा पानी जमेर बसेको भए पनि तत्काल जोखिम भने नरहेको पाइएको छ।’

उनले नजिकमा कुनै पनि बस्ती नभएको कारण अहिले जमेको पानीले कुनै क्षति वा मानवीय क्षति नगर्ने प्रतिक्रिया दिए। तत्काललाई कुनै क्षति नहुने बताएका प्रमुख जिल्ला अधिकारी अहिले जमेको पानी भोलि बाढी आएको अवस्थामा बढ्न सक्ने भएकोले सतर्कता अपनाउन भने आग्रह गरे। 

बाढीले दूधकोसी नदीमा निर्माणाधीन मोटरेवल पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। वडा नम्बर ४, ५ र ९ नम्बर वडालाई जोड्ने निमार्णधिन पक्की पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको गाउँपालिका प्रवक्ता वडा अध्यक्ष भोजराज कार्कीले बताए।

थुलुङ दूधकोसी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष युजन बस्नेतले सुरक्षा निकायले दूधकोसी थुनिएको विषयलाई सामान्य आँकेको र संवेदनशील नभएको गुनासो गरे।

हाल निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको पावर हाउस पनि सतह माथि उठेका कारण जोखिममा पर्ने उनको भनाई छ। 

कोसी प्रदेश सरकारको १५ करोडको लगानीमा २०७६ सालबाट निर्माण सुरु भएको उक्त पुलको निर्माणको जिम्मेवारी खाम्पाचे निर्माण सेवाले पाएको थियो। निर्माणमा ढिलासुस्ती हुँदा पुल निर्माण पुरा हुन नपाउँदै क्षति पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad