कोसी प्रदेशमा नेपाली कांग्रेसभित्र तीव्र विभाजन देखिएको छ।
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विकल्प खोज्न थालिएको हो।
नेता थापाले संसदीय दल राम्रोसँग चलाउन नसकेको तथा निर्णय गर्न नसकेको आरोप लागिरहेको छ।
थापा नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत हुन्।
कांग्रेसबाट प्रदेश सरकारमा सहभागी पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हांगामलाई फिर्ता नगरेको भनी कांग्रेस प्रदेश सांसदहरू रुष्ट भएका हुन्।
यस्तै कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म मन्त्री पठाउन नसकेको भनेर पनि दल नेता थापाको आलोचना भइरहेको छ।
स्वास्थ्य मन्त्रालय शेखर कोइराला समूहको भागमा परेको छ। तर यो समूहभित्रै एकमत देखिएको छैन।
जसले गर्दा मन्त्री पठाउन सकिएको छैन। यसको दोष पनि दलका नेता उद्धव थापालाई नै लागिरहेको छ।
प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको, उनीहरूले क्युआर कोडमार्फत कर्मचारीबाट रकम असुली गरेको कुरा पनि चर्चामा छ।
तर दलका नेता थापाले यी कुनै पनि विषयमा कुनै निर्णय गर्न नसकेको आरोप लागिरहेको छ।
दलका नेता थापा प्रदेश सरकारको लाचार छाया बनेको गुनासो नेपाली कांग्रेस प्रदेश संसदीय दलका एक नेताले गरे।
यसैले दलको नेता नै फेर्ने कुरा उठ्न थालेको ती नेताको भनाइ छ।
‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन, तर कुरा आइरहेका छन्’, ती नेताले नेपालखबरसँग भने, ‘यदि बहुमत पुग्यो भने नेतृत्व परिवर्तन हुन्छ, त्यसको अन्तिम गृहकार्य भइरहेको छ।’
दलका नेताले एक वर्षपछि मन्त्री परिवर्तन गर्ने प्रतिबद्धता गरेका भए पनि त्यो कार्यान्वयन नगरिएको विषयमा पनि कोसी कांग्रेसमा असन्तुष्टि देखिएको छ।
‘एक वर्षपछि नयाँ अनुहारहरू अगाडि ल्याउनुपर्छ भन्ने सहमति भए पनि अहिलेसम्म कदम चालिएको छैन,’ ती नेताले थपे, ‘विवादित मन्त्रीहरू फिर्ता नबोलाउनु, संसदीय दलभित्र सदस्यहरूले राखेका कुराहरूलाई सम्बोधन नगर्नु, सरकारको कार्यशैलीको समीक्षा नगर्नु दलको नेताको गम्भीर कमजोरी हो।’
सम्भावित नयाँ नेतृत्वका रूपमा अमृत अर्याल, केदार कार्की, विनोद राई, प्रदीप सुनुवारलगायतका नाम चर्चामा छ।
यसबीच मोरङ, सुनसरी, झापाजस्ता जिल्लाका नेतालाई साथमा लिएर आगामी टिम निर्माण गर्ने विचार भइरहेको पनि ती नेताले बताए।
उनले अगाडि भने, ‘नेतृत्व फेर्ने कुरालाई अहिले गोप्य नै राखिएको छ, तपाईँ मिडियाहरूले पनि सार्वजनिक नगरिइदिए हुने थियो, हामी अहिले आन्तरिक तयारीमा रहेकाले धेरै विषय बाहिर लग्न मिल्दैन, यो बारेमा आन्तरिक रूपमा निक्कै तयारी भइरहेको छ।’
यसलाई कांग्रेस सांसदहरूले नयाँ टिम निर्माण भएको भन्न थालेका छन्।
कांग्रेस संसदीय दलका अर्का सदस्यले नेपालखबरसँग भने, काम गर्न नसकेपछि फेर्ने कुरा त आइहाल्छ नि, सरकारले अनुभूति दिन सकेन, मन्त्रीहरूले काम गरेनन्, प्रतिक्रिया दिनुपर्ने ठाउँमा कुनै दलका तर्फबाट प्रतिक्रिया छैन, यस्ता कुरामा हामी दलको इमानदार सदस्य भएकाले चुप लागेर बस्ने अवस्था रहेन।’
उनका अनुसार दलको नेता फेर्नुपर्छ भनेर लागेका सांसदहरूले संख्याको हिसाबकिताब गरिरहेका छन्।
‘संख्या पुग्यो भने हटाउने भन्ने नै हो, तर अहिले कसको पक्षमा बहुमत पुग्न सक्ला भनेर जोड घटाउ सुरु भएको छ’, ती कांग्रेस सांसदले थपे, ‘जसले संख्या पुर्याउन सक्छु भनेर आउँछ, उसैलाई दलको नेता बनाउने हो।’
भित्रभित्रै कसको नाममा तयारी भइरहेको छ त भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘नामहरू आइरहेका छन्, अमृत अर्याल, केदार कार्की, विनोद राई अरू साथी पनि हुन सक्छन्।’
मोरङ, झापा, सुनसरीजस्ता जिल्लाबाट मात्र नेताहरू चयन भइरहँदा बाँकी भूगोलको प्रतिनिधित्व नभएको गुनासो पनि उठेको छ।
ती नेताले भने, ‘कोसीको राजनीतिमा अब मोरङ, झापा, सुनसरीबाहेकका जिल्लाबाट पनि नेताहरू आउनुपर्छ,’ उनले भने।
उता देउवा समूहका सांसदहरू भने उद्धव थापासँगका केही असन्तुष्टि देखिए पनि तत्काल दलको नेता परिवर्तन भइनहाल्ने अवस्था नरहेको बताउँछन्।
दलको नेता फेर्ने प्रक्रिया अघि सार्दा पनि शेखर कोइराला समूह एक ठाउँमा नहुने हो कि भन्ने आशंका देखिएको छ।
यस विषयमा प्रतिक्रिया लिन नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापासँग नेपालखबरले सम्पर्क गर्न खोज्दा कुरा गर्न चाहेनन्।
Shares

प्रतिक्रिया