ग्रामथान गाउँपालिकाको १७औँ गाउँ सभाको तेस्रो बैठकमा अनुशासन भङ्ग गर्ने र अपमानजनक व्यवहार गर्ने दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँ सभा बैठकमा सहभागी हुन नपाउने निर्णय गरिएको छ।
गाउँपालिका कार्यालयका अध्यक्ष नमोनारायण माझीले असार २७ गते जारी गरेको आदेशअनुसार वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेष नारायण चौधरीलाई ‘ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि, २०७४’ को दफा १६ को उपदफा ४ अनुसार कारबाही गरिएको उल्लेख गरिएको छ।
ती सदस्यहरूले सभाको बैठक सञ्चालन भइरहेका बेला अपमानजनक शब्द प्रयोग गर्नुका साथै सभाको गरिमा र प्रतिष्ठामा आघात पुग्ने खालका गतिविधि गरेको भनिएको छ। सोही आधारमा दुवैलाई सात दिनसम्मको लागि गाउँ सभा बैठकमा सहभागी हुन नपाउने गरी निष्कासन गरिएको गाउँपालिका अध्यक्ष नमो नारायण माझीले हस्ताक्षर गरेको आदेशमा उल्लेख छ।
घटना सार्वजनिक भएपछि गाउँ सभाको मर्यादा र अनुशासन विषयमा विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन्। कारबाही परेका ग्रामथान गाउँपालिकामा दुई वडा अध्यक्षहरू मध्ये वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेष नारायण चौधरी एमालेका वडा अध्यक्ष हुन्।
सामान्य छलफल हुँदै गर्दा नीति तथा कार्यक्रम पारित भएको अध्यक्ष माझीले भन्दै आएपछि त्यसको प्रतिवाद गर्दा उनले सभामा नै उपस्थित हुन नपाउने गरी उनले प्रतिशोध साँधेको भनाइ अन्य जनप्रतिनिधिको छ। ग्रामथानले अझै बजेट ल्याउन सकेको छैन।
गएको मंसिरमा भएको उपनिर्वाचनमा माओवादीबाट अध्यक्ष जितेका माझीले एमालेका वडाध्यक्षमाथि अनुशासनको कारबाही गरेका हुन्।
अध्यक्षलाई प्रश्न गरेकै कारण आफूहरुलाई यस्तो कारबाहीको घोषणा भएको भन्दै दुवै वडाध्यक्षले यसको कानुनी उपचार खोज्ने बताएका छन्।
यसअघि उपाध्यक्ष गुणवती थारुसहितका एमालेका जनप्रतिनिधिको गाडी खोसेका, उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिएका माझीले कोरम नपुर्याई कार्यपालिका बैठकबाट निर्णय पनि गराएका थिए।
पटकपटक आफूखुसी निर्णय गराएका उनको कदमलाई अदालतले पटकै पिच्छे अंकुश लगाउँदै आएको छ।
यसपटक गाउँसभामा एमालेका दुई वडाध्यक्षलाई बैठकमा बस्नै प्रतिबन्ध लगाएपछि ग्रामथानको गाउँसभा फेरि स्थगित भएको छ। अध्यक्ष माझीका कारण ग्रामथानले अहिलेसम्म बजेट ल्याउन सकेको छैन।
ग्रामथानको कार्यपालिका र गाउँसभामा कांग्रेस र एमालेको बहुमत छ। माझीले अन्य दलहरुसँग समन्वय गरी नेतृत्व गर्नुको साटो बारम्बार गैरकानुनी निर्णय गर्दै विवादित हुने गरेका छन्।

Shares

प्रतिक्रिया