समाज


रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, ८६२ जनाको उद्धार

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, ८६२ जनाको उद्धार

नेपालखबर
असार २७, २०८२ शुक्रबार १८:२४, काठमाडौँ

माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन्।

यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उनले बताए। अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुनसकेको छैन। कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन्। उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन। शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। 

उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ। 

उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो। यस्तै २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ। धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ। रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ। 

यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad