कोशी


डीपीआर नबन्दै सगरमाथा विमानस्थलको नाममा हजारौँ रुख कटान

डीपीआर नबन्दै सगरमाथा विमानस्थलको नाममा हजारौँ रुख कटान

सुमन सुस्केरा
असार १८, २०८२ बुधबार १६:२, उदयपुर

प्रस्तावित सगरमाथा विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा सरकारले हालै बजेटमा व्यवस्था गरे पनि विमानस्थलको नाममा तीन वर्षअघि नै १३ हजारभन्दा बढी रैथाने रुख काटिएको तथ्य बाहिर आएको छ। एमाले उदयपुर अध्यक्ष भागवत राउतले खुला पत्रमार्फत पूर्वमन्त्री डा‍ नारायण खड्कामाथि सो प्रकरणबारे प्रश्न उठाएका छन्।

राउतले पत्रमा लेखेका छन्, ‘२०७८ सालको मन्त्रिपरिषद्को निर्णयमा त्रियुगा नगरपालिकाका तीन सामुदायिक वनहरू क्रमशः मोथियाही सामुदायिक वनको ८३.२३ हेक्टर वनक्षेत्रको ५६०७ रुख, त्यसैगरी कङ्ग सामुदायिक वन उपभोक्ता समूहको ७५.३५ हेक्टर वनक्षेत्रमा फैलियको १२६३८ रुख र शिवालय धार्मिक वन ०.५२ हेक्टर क्षेत्रफलको १७८ रुख गरि जम्मा १८४२३ रुख मध्ये १०५.१० हेक्टर वन क्षेत्रको १३६३७ रुख  हटाउने र बाँकी हरित क्षेत्रको लागि छोड्ने गरि २०७८-१०-२५ गतेको वन मन्त्रालयको निर्णय अनुसार रुख कटानको कार्य अगाडी बढाइएको देखिन्छ। तीन वर्ष बित्दा पनि विमानस्थल निर्माण त परै जाओस्, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने बजेट मात्र अहिले आएर छुट्याइएको छ,’ उनले भनेका छन्।

खुला पत्रअनुसार, ‘काटिएका रुखहरूले वार्षिक ३६ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्थे, जसले ३ हजारभन्दा बढी मानिसलाई वर्षभरि निःशुल्क अक्सिजन आपूर्ति गर्न सक्थ्यो। त्यस्तै, काटिएका वन क्षेत्रबाट करिब ९,४५० टन कार्बनको क्षति भएको छ। अन्तर्राष्ट्रिय कार्बन बजारमा यसको न्यूनतम मूल्य करिब १ करोड ३२ लाख रुपैयाँ बराबर हुने खुलासा गरिएको छ’, राउतले भनेका छन्, ‘विमानस्थलका लागि विस्तृत योजना नै तयार नभएको अवस्थामा रुख काट्ने निर्णय गरेर वातावरणमा यस्तो गम्भीर क्षति पुर्याउनु र त्यसपछि आफूले गरेजस्तो गरेर प्रचार गर्नु दोहोरो चरित्रको नमूना होइन र?’

उनले चुरे क्षेत्रको महत्त्वलाई स्मरण गराउँदै भनेका छन्, ‘चुरे क्षेत्र तराई र भित्री मधेसको जलचक्र सन्तुलनमा राख्ने कडी हो। यहाँको वनस्पति र माटोको संरचनाले बाढी, पहिरो र भूक्षय रोक्न भूमिका खेल्थ्यो। यति ठूलो संख्यामा रुख फडानी हुँदा भूमिगत पानीको स्तर घट्ने, जमिन कटान बढ्ने, बाढीपहिरोको जोखिम उच्च हुने खतरा देखिएको छ।’

राउतले वातावरणीय क्षतिपूर्ति स्वरूप हजारौं नयाँ बिरुवा रोपेर संरक्षण गर्न, हुर्काउन र वातावरणमैत्री विकासलाई प्राथमिकतामा राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

‘हामी राजनीति भोटका लागि होइन, हाम्रा सन्ततिका लागि वातावरण जोगाउने उद्देश्यले विकासका काम अघि बढाउनुपर्छ,’उनले पत्रमार्फत डा खड्कालाई चेतावनी दिएका छन्।

उनले आगामी दिनमा विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र स्थानीय सरोकारवालासँग परामर्शबिना कुनै पनि प्रकृति विनाशकारी निर्णय नगर्न समेत राजनीतिक नेतृत्वलाई सुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad