कोशी


विराटनगरको रानी नाकामा सशस्त्रले लगायो काँडेतार

विराटनगरको रानी नाकामा सशस्त्रले लगायो काँडेतार

सुमन सुस्केरा
जेठ १८, २०८३ सोमबार १५:५६, विराटनगर

सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा काँडेतार लगाएको छ। सीमा क्षेत्रबाट अवैध रूपमा चोरी तस्करी हुन थालेपछि प्रहरीले नेपाल तर्फको भूमिमा रहेको भत्किएको पर्खालमा काँडेतार लगाएको प्रशस्त्र प्रहरी बलले जनाएको छ।

सोमबारदेखि सशस्त्र प्रहरीले त्यस क्षेत्रमा रहेको कम उचाइको पर्खालमाथि काँडेतार लगाएको हो।  सीमा सुरक्षालाई थप मजबुत बनाउन र जनगुनासोलाई सम्बोधन गर्न यो कदम चालिएको सुरक्षा निकायले जनाएको छ। जोगबनी नाकाको मुख्य ढाटबाट आउने अनधिकृत मानिसहरूलाई सुरक्षाकर्मीले रोक्न थालेपछि उनीहरूले वैकल्पिक र होचो ठाउँहरू प्रयोग गरेर चोरी तस्करी गर्न थालेपछि काँडेतार लगाइएको सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए। 

विशेष गरी मुख्य नाका नजिकै रहेको सार्वजनिक शौचालयको छेउमा पहिलेदेखि नै रहेको पर्खाल भत्किएको अवस्थामा थियो। खुल्ला सीमाका कारण रेलबाट आउने यात्रुहरूको कागजपत्र जाँच गर्न र भिडभाड व्यवस्थापन गर्न सुरक्षाकर्मी व्यस्त रहेका बेला उक्त भत्किएको र होचो पर्खालबाट पोके तस्कर तथा सर्वसाधारणहरू निरन्तर हामफालेर आवतजावत गरेपछि सशस्त्र प्रहरीले कडाइ गरेको हो। 

सशस्त्र एसपी भण्डारीले भने, ‘यसरी पर्खालबाट मानिसहरू हामफालिरहेको दृश्यसहितका दुई–तीन वटा भिडियोहरू स्थानीय बासिन्दा र मिडियाहरूबाट लगातार सुरक्षा निकायका अधिकारीहरूलाई पठाएर ध्यानाकर्षण गराएका थिए।’

सशस्त्र प्रहरीका अनुसार, प्रमाणसहित गुनासो आएपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई हेरेर काँडेतार लगाउने निर्णय गरेको हो। काँडेतार लगाएको संरचना पूर्ण रूपमा नेपालकै भूभाग भित्र पर्ने भएकाले नेपालतर्फको सुरक्षा सुदृढ गर्न यो कदम चालिएको सुरक्षा अधिकारीले प्रस्ट पारेका छन्।  

जनगुनासो र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गुल्म टंकी र रानी गुल्मको संयुक्त पहलमा उक्त कार्य भएको जनाइएको छ। करिब ६० मिटर क्षेत्रफलमा फैलिएको पर्खालमाथि काँडेतार जडान गरी उचाइ बढाइएको छ, जसले गर्दा अनधिकृत आवतजावत र तस्करीमा रोक लाग्ने मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। 

उनका अनुसार, यसअघि पनि जोगबनी नाकाको दशगजा क्षेत्रमा रहेका घर तथा पसलहरूबाट अवैध गतिविधि हुने गरेको निष्कर्ष सहित सीमा क्षेत्रमा बनेका घरहरूको अवैध ढोका र झ्यालहरू प्रशासनले बन्द गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad