कोशी


‘मन्त्रीहरूले सांसद र सदनलाई धम्क्याउने काम गरे’

‘मन्त्रीहरूले सांसद र सदनलाई धम्क्याउने काम गरे’

नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो


नेपालखबर
असार १३, २०८२ शुक्रबार १७:३६, विराटनगर

नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सांसदले उठाएको विषयहरूलाई सहज जवाफ दिएर समाधान गर्नु पर्नेमा मन्त्रीहरूले प्रदेश सभा र सांसदलाई धम्क्याउने काम गरेको बताएका छन्। कोसी प्रदेश सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारका मन्त्रीहरू जिम्मेवार जवाफदेही  नभई माननीयहरूले उठाएको विषयमा सदन र सांसदलाई धम्क्याएर मुख थुन्ने कोसिस गरेको बताए।

‘सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने कुरा विपक्षीले गर्ने हो,’ उनले भने, ‘संसद् सत्ता नियन्त्रित हुनै  सक्दैन, संसदीय दल भित्र तपाईँहरू आफ्ना सांसदलाई जे गर्नु हुन्छ गर्नुस् तर संसद् सरकारद्वारा नियन्त्रित हुँदैन।’ 

बजेटमा लुट भएको टिप्पणी गर्दै उनले अधिकांश मन्त्रीहरूले बजेटमाथि ब्रम्हलुट गरेको बताए। 

‘बजेट वितरणमा हिजो बदमासी भएको थियो आज हामीले लुट्यौँ भनेर मन्त्रीज्यूहरूले भनेको हुन्थ्यो,’ उनले भने, ‘तपाईँहरूले अलिकति हप्काएको भरमा हाम्रो स्वर सानो हुँदैन नि।’ 

उनले बजेटको विषयमा सामान्य ज्ञान राख्नु पर्ने बताए। सुरुमा आफू आर्थिक मामिला तथा योजना मन्त्री भएको बेला ५ महिनासम्म सचिवहरूसँग कक्षा लिएर काम सिक्दै अघि बढेको समेत सुनाए। त्यो बेलामा सबै जिल्लामा समानुपातिक बजेट वितरण गरिएको समेत भन्न भ्याए।

‘अहिलेको जस्तो सोहोर साहार गरेर एउटै मन्त्रीको जिल्लामा बजेट हालिएको थिएन,’ उनले भने, ‘सबै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा पर्ने गरी बहुवर्षीय योजनाहरू हालिएको र खानेपानी वितरणका योजनाहरू पनि त्यसैगरी अगाडी बढेको थियो। एकै ठाउँमा लुटेर लगेको थिएन।’ 

उनले आफ्नो कार्यकालमा सानातिना कमजोरी भए पनि बजेट वितरण समानुपातिक रूपमा वितरण गरिएको दाबी गरे। 

प्रदेश सभा भित्र मन्त्रीले प्रदेश सांसदहरूको मुख थुन्न खोजिएको विषयमा केन्द्रित भएका नेता आङ्बोले सदन भित्र आफ्ना कुरा राख्ने हो, यहाँ चित्त नबुझ्दा निस्किएर पत्रकार सम्मेलन गर्ने र त्यसपछि पनि सरकार जिम्मेवार नहुँदा विपक्षी सडकमा जान सक्ने भएकोले प्रदेश सभा भित्र सरकार नियन्त्रित गर्ने प्रयास नगर्न चेतावनी दिए।

‘बजेटले सन्तुलन काम गर्न नसकेको कारण सन्तुलन गर मात्रै भनेको हो,’ उनले भने, ‘सरकारलाई जबाफदेही र जिम्मेवार बनाउने प्रयास प्रतिपक्षीले गर्ने हो।’

आङ्बोले प्रदेश सभामा बोलेको विषयमा नेपाली कांग्रेस संसदीय दलले असन्तुष्टि जनाएको छ।  

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रतिपक्षीले आफ्नो कुरा राख्नु स्वाभाविक भए पनि प्रदेशसभामा छलफल भएर टुङ्गो लागिसकेको र मन्त्रीले जवाफ दिइसकेको विषयमा फेरी त्यही विषय दोहोर्‍याउनु आवश्यक नभएको भन्दै सभामा ध्यानाकर्षण भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad