कोशी


ओलीले त्यसो भन्नै मिल्दैन: विद्या भण्डारी

ओलीले त्यसो भन्नै मिल्दैन: विद्या भण्डारी

सुमन सुस्केरा
जेठ २७, २०८२ मंगलबार १२:११, विराटनगर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष आफूलाई गुटबन्दी गरेर हिँडेको भन्नै नमिल्ने टिप्पणी गरेकी छन्। 

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारले तपाईंलाई त एमाले अध्यक्ष ओलीले गुटबन्दी गर्दै हिँडेको भनी आरोप लगाउनुभएको छ नि भनेर प्रश्न गर्दा भण्डारीले आफूले त्यस्तो कहिले नगरेको दाबी गरेकी हुन्। 

यस क्रममा उनले एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति आफूलाई नै ताकेर नभएको जिकिर गरिन्। 

उनले भनिन्, ‘नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीज्यूले जे भन्नुभयो, त्यो मलाई नै तोकेर, ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन।’ 

लक्षितचाहिँ हो? 

जवाफमा भण्डारीले भनिन्, ‘म कहिले गुटबन्दी नगरेर मेन स्ट्रिमको पोलिटिक्स (मूल धारको राजनीति) गरिरहेको मान्छे, उहाँले त्यसो भन्नै मिल्दैन। मलाई तपाईंहरूको गलत अर्थ होला भन्ने लाग्छ। सक्रिय राजनीतिमा आउँदा म अध्यक्ष हुने कुराले अरू आकांक्षीहरूको मनमा केही प्रश्न उठाएको हुन सक्छ। त्यल्लाई भनेको हो कि?’

उनले आफू कुनै व्यक्तिगत आकांक्षाले सक्रिय राजनीतमा आउन खोजेको नभई राष्ट्रिय हितका लागि काम गरिरहेको दाबी पनि गरिन्।  

उनले भनिन्, ‘मैले त्यस्तो व्यक्तिगत आकांक्षा राखेको छैन, मचाहिँ राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी काम गर्ने हो, मलाई चाहिँ के लाग्छ भने हाम्रा आदरणीय अध्यक्षज्यूले विद्या भण्डारीलाई नै प्रतिस्पर्धी देखेर पछिल्ला धारणाहरू व्यक्त गरिरहनुभएको छ भन्ने मलाईचैँ पटक्कै लाग्दैन। मलाई के लाग्छ भने महाधिवेशन आउँछ, तिमीहरू चिन्ता नगर, हामी मिलाएर गर्छौँ भनेर कार्यकर्तालाई आश्वस्त पार्न खोज्नुभएको हुन सक्छ।’

यस्तै पूर्वराष्ट्रपति भण्डारीले देशभित्र घुमफिर र भेटघाट गर्ने एमाले वा एमालेका नेताहरूसँग अनुमति लिइरहननपर्ने टिप्पणी पनि गरिन्।

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरू? नयाँ पुस्ता के चाहन्छन्? त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ- राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ- नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’

फरक प्रसंगमा पूर्वराष्ट्रपति भण्डारीले पार्टी–पार्टीबीचमै अविश्वास भएकाले वामपन्थी एकता सम्भव नभएको धारणा पनि राखिन्। 

‘वाम एकताको पहिलादेखि नै चर्चा परिचर्चा हुँदै आएको छ’, उनले भनिन्, ‘समयको आवश्यकताले हुने कुराचैँ हो, तर वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन।’ 

पूर्वराष्ट्रपति भण्डारी यही जेठ २२ गते विराटनगर आएकी थिइन्। जेठ २३ गते विराटनगरमा उपप्रमुख उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गरेर झापा गएकी भण्डारीले त्यहाँ एमालेका नेता–कार्यकर्ताहरूसँग भेटवार्ता गरेकी थिइन्। 

झापामा २ दिन बसेर उनी आइतबार साँझ विराटनगर फर्केकी थिइन्। सोमबार उनी १२ वर्षपछि आफ्नो घरमा पुगिन्। जहाँ मदन भण्डारी फाउन्डेसनले अन्तरक्रिया कार्यक्रम गरेको थियो।

पूर्वमा उनले ५ दिन बिताइन्। यस अवधिमा उनले अधिकांश समय एमाले नेता–कार्यकर्ता तथा एमालेनिकट संघसंस्थाका प्रतिनिधिहरूसँग छलफलमा बिताइन्। यसअघि उनी दुईवटा कार्यक्रम- उपप्रमुख/उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन र बिर्तामोडमा विज्ञान प्रविधि प्रदर्शनी कार्यक्रमका लागि मात्रै भनेर पूर्व आएकी थिइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad