कोसी प्रदेशसभा भित्र पछिल्लो समय सांसदहरू मर्यादामा नबसेको भनेर बेला बेला चर्चा हुन्छ। सांसदहरू कुराकानी गर्दै भन्छन्, ‘प्रदेश सभामा उहाँ माननीय ज्यूले यो काम नगरेको भए हुन्थ्यो, प्रदेशसभा भित्र यस्ता कुरा नबोलेको भए पनि त हुन्थ्यो।’
बेलाबेला प्रदेशसभा भित्रै माननीय ज्यूहरूको बिचमा हुने छेडखानी त सामान्य नै हुने भए। तर शुक्रवार प्रदेश सभाको बैठक चलिरहेको बेला एक जना प्रदेश सभा सदस्यले सुर्ती तथा सुर्तीजन्य पदार्थ नै सेवन गरेका छन्।
कोसी प्रदेश सभाको सातौँ अधिवेशनको दशौँ बैठकको शून्य समय सकिएपछि नेपाली कांग्रेस दलको तर्फबाट धारणा राख्न सभामुखले समय दिन्छन्।
दलको तर्फबाट नेपाली काँग्रेसका सांसद प्रदीपकुमार सुनुवारले आफ्ना कुराहरू राख्दै थिए। किसानका समस्यालाई ब्याज अनुदानले सम्बोधन नगर्ने बताउँदै थिए। उनले दलको तर्फबाट कुरा राख्दै गर्दा गणतन्त्रवादीहरु एकै ठाउँमा रहेको भन्दै उनले अहिलेको व्यवस्थालाई राम्रो रहेको बताए। गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै उनले भिजिट भिसाको सन्दर्भमा ठुलो प्रश्न उठेकोले प्रदेश सभा भित्र पनि भाइरल हुने मात्रै काम केही सांसदले गरेको गुनासो गर्छन्।
सांसद सुनुवारले यति बोल्दा नबोल्दै एउटा दृश्य देखिन्छ, सांसदले मुखमा फाँको मारेको।
नेकपा माओवादी केन्द्रका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराँतीले दाहिने हातबाट केही निकाल्छन् र मुखमा फाँको मार्छन्। उनले यसरी सेवन गरेको कुरा के थियो भन्ने स्पष्ट नभए पनि उनी मुखमा त्यो बस्तु हालेर बसेको कुर्सीको दायाँ पट्टी ढल्किन्छन्। उनले मुखमा हालेको त्यो बस्तु मर्याङ मर्याङ चपाउँदै गर्छन्।
उनी कसैले देख्यो की जस्तो गरेर अगाडीको कुर्सीमा छलिन लागेको जस्तो समेत गरेको देखिन्छन्। प्रदेश सभामा यस्तो देखिएपछि यस बारेमा किराँतीसँग नेपालखबरले सोध्दा उनी भन्छन्, ‘मैले सुपारी खाएको हुँ नि, त्यो कुहिएको सुपारी क्या रजनीगन्धा हो।’
पछिल्लो समय प्रदेश सभा भित्रै निदाउने, फोन चलाउने, कुराकानी गर्ने, टिकटक हेर्ने, फेसबुकका रिल बनाउने, फोटो खिच्ने जस्ता गतिविधि हुँदै आएको भन्दै केही सांसदहरूले आलोचना समेत गर्दै आएका छन्। प्रदेश सभा नियमावली २०७४ संशोधन सहितले प्रदेश सभा सञ्चालन भएको बेलामा यस्ता गतिविधि गर्न वर्जित गरेको छ।
Shares

प्रतिक्रिया