मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ मा रहेको निचामारी आधारभूत विद्यालयमा आइतबार कक्षा ६ मा एक जना मात्र विद्यार्थी आए। गत बिहीबार ९ जना विद्यार्थी नियमित पढ्न आएकोमा शुक्रबार १० जना विद्यार्थीले कक्षा ५ बाट कक्षा ६ को ट्रान्सफर सर्टिफिकेट लिएर गएका थिए।
कक्षा ५ बाट ६ मा गएका विद्यार्थीहरू २५ जना भएको दाबी विद्यालयले गर्दै आएको भए पनि नियमित विद्यालय आउने विद्यार्थीको संख्या सरदर १० जना थियो। त्यो संख्या आइतबार १ जना विद्यार्थीमा झरेको छ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शम्भु मण्डलसहितका अभिभावकहरू विद्यालयमा आएका थिए। विद्यालयमा पढाई राम्रो नभएको भन्दै आफ्ना बालबालिकालाई विद्यालयमा नपढाउने भनेर मण्डलले आफ्नो छोरीलाई विद्यालयबाट निकाले। आफ्नो छोरीको सर्टिफिकेट लिएर गए।
उनीसँगै आएका अन्य १० जना अभिभावकले पनि दुई दिन भित्रमा एकै पटक आफ्ना बालबालिका निचामारी आधारभूत विद्यालयमा नपढाउने निष्कर्षसहित निकाले। अझै धेरै अभिभावक विद्यालयमा पढाई नै नहुने भन्दै विद्यालयमा आफ्ना बालबालिकाको पढाई राम्रो नभएको भन्दै निकाल्ने अवस्थामा पुगेका छन्। आइतबारसम्म १० जना विद्यार्थीले विद्यालय छाडेका छन्।
बाल विकासदेखि कक्षा ६ सम्म सञ्चालनका लागि अनुमति प्राप्त गरेको विद्यालयले यो वर्षदेखि कक्षा ५ सम्म मात्रै पढाउने भन्दै बालबालिकालाई पठन पाठनबाट वञ्चित गराएको अभिभावकको आरोप छ। कक्षा ६ मा अब विद्यालयले पढाउन नसक्ने भनेर हल्ला चलाइएपछि अभिभवकहरुले ट्रान्सफर सर्टिफिकेट लिएको भन्ने गरेका छन्।
विद्यालयकी शिक्षक उषा निरौलाले अहिलेसम्म १० जना विद्यार्थीले विद्यालय छाडेको पुष्टि गरिन्। विद्यालय छाडेका विद्यार्थीहरूलाई आदर्श मावि शुक्रबारे र पब्लिक मावि दुवै विद्यालयले भर्ना नलिएको भन्ने जानकारीमा आएको समेत उनले बताइन्।

प्रधानाध्यापकमाथि पढाइ नहुने हल्ला चलाएको आरोप
विद्यालयका प्रधानाध्यापक कुन्दनप्रसाद साहमाथि विद्यालयमा पढाई हुँदैन भनेर हल्ला चलाएको आरोप लागेको छ। विद्यार्थीलाई कक्षा ६ मा पढाई हुँदैन भनेर २५ जना विद्यार्थीको ट्रान्सफर सर्टिफिकेटमा हस्ताक्षर गरेर उनी बिदामा बसेको विद्यालय स्रोतले जनाएको छ। उनी वैशाख ३१ गतेदेखि बिदामा छन्।
प्रधानाध्यापक साह भने अभिभावक आफैँले विद्यार्थी लिएर गएको बताउँछन्। ‘अभिभावकले आफैँ विद्यार्थी लिएर गएका छन्,’ उनले नेपालखबरसँग भने, ‘मैले किन पठाउनु ?’
प्रअ बन्न चलखेल
यो घटना पछाडिको कारण विद्यालयको प्रधानाध्यापक को बन्ने भन्नेसँग जोडिएको त्यहाँका शिक्षकहरू बताउँछन्। रङ्गेली नगरपालिकाले तहगत रूपमा निमावि शिक्षकलाई प्रअको जिम्मेवारी दिएर त्यस विद्यालयमा पठाएको थियो।
२ वर्ष अगाडिदेखि नै पालिकाले प्रअ परिवर्तन गर्नको लागि गरेका प्रयास असफल हुँदै आएका छन्। रङ्गेली नगरपालिका शिक्षा शाखाले निचामारी आधारभूत विद्यालयको प्रधानाध्यापकमा निमावि शिक्षक हर्क पौडेललाई पठाएको थियो।
तर, साहले आफू प्रधानाध्यापक बनिराख्न विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूलाई प्रयोग गरी उनलाई हाजिर नै हुन नदिएको शिक्षकहरू बताउँछन्।
निमावि शिक्षक खुस्बु दासलाई पब्लिक माविमा पठाइएपछि त्यहाँ पौडेललाई पठाइएको थियो। उनलाई अभिभावकले हाजिर हुन नदिएपछि १८ महिना नगरपालिकाको शिक्षा शाखामा नै बसेर हाजिर गरे। यो विषय अदालतसम्म पुग्यो। अहिले उनी लक्ष्मी आधारभूत विद्यालयमा सरुवा भएका छन्।
पालिकाले एक साताअघि मात्र त्यही विद्यालयमा पढाउँदै आएका निमावि दरबन्दीका अंग्रेजीका शिक्षक खगेन्द्र सेढाइँलाई प्रअको जिम्मेवारी तोकेर पठाएको रङ्गेली नगरपालिका शिक्षा शाखाले जनाएको छ।
सेढाइँ विद्यालयको प्रअ हुने भएपछि कुन्दनले विद्यार्थीलाई अब पढाई नहुने हल्ला चलाएर विद्यार्थीहरूलाई अन्यत्र पठाउने सर्टिफिकेट दिएको जानकारीमा आएको नगरपालिका शिक्षा शाखाका प्रा.स.सुनिल कुमार साहले बताए।
रङ्गेली नगरपालिकाले तहगत शिक्षकहरूलाई मात्र प्रअको जिम्मेवारी दिन गरेको निर्णय कार्यान्वयनमा लगेकोछ। विद्यालय शिक्षाको गुणस्तर सुधार गर्दै विद्यालय शिक्षालाई प्रभावकारी बनाउनको लागि प्राविको प्रअ प्रावि शिक्षक नै हुने, निमाविमा सोही तहको स्थायी शिक्षकलाई प्रअको जिम्मेवारी दिने र मावि तहमा मावि कै शिक्षकलाई प्रअको जिम्मेवारी दिने निर्णय भएको नगरपालिकाका मेयर दिलीपकुमार अग्रवालले बताए।
‘हिजोका दिनमा प्राविका शिक्षकले निमावि तथा माविको प्रअको जिम्मेवारीमा रहेको अवस्थालाई तहगत गर्ने कामको थालनी गरेका छौँ’, अग्रवालले भने, 'अहिले तहगत शिक्षकले मात्र प्रअ हुने व्यवस्था भएपछि केही विद्यालयहरूमा प्रअ हुन नपाउँदा समस्याहरू सिर्जना गराइएको छ।’
Shares

प्रतिक्रिया