कोशी


यस्तो बन्दैछ, विराटनगर विमानस्थलको टर्मिनल भवन (तस्बिर)

यस्तो बन्दैछ, विराटनगर विमानस्थलको टर्मिनल भवन (तस्बिर)

सुमन सुस्केरा
चैत १४, २०८१ बिहिबार २१:२४, विराटनगर

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको काम सुरु भएको २८ महिना बित्यो। ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ। 

त्यो अवधिलाई आधार मान्दा अब यो परियोजना सम्पन्न गर्न करिब ८ महिना बाँकी छ। परियोजनाको कामको प्रगति तीव्र नभए पनि गति भने लिई रहेको परियोजना कार्यालयले जनाएको छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागले विराटनगर विमानस्थल टर्मिनल भवन निर्माण परियोजनाको काम करिब ५४ प्रतिशत मात्रै सकिएको जनाएको छ। 

केसी डाँफे जेभीले ठेक्का लिएर १ जनवरी २०२३मा काम सुरु भएको थियो। ३ अर्ब १२ करोड ९९ लाख ३७ हजार ४७३ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसारको अन्तर्राष्ट्रिय स्तरको टर्मिनल भवन निर्माण हुने भनिएको छ।  

आन्तरिक तर्फ २७५ र अन्तर्राष्ट्रिय तर्फ ५५० गरी प्रति घण्टा ८२५ यात्रु सिट क्षमताको टर्मिनल भवन  रहेको परियोजनाका इन्जिनियर सञ्जीव खड्काले जानकारी दिए। उनका अनुसार,  हरेक वर्ष यात्रुको सङ्ख्या बढ्न सक्ने आस्थालाई मध्यनजर गरी यात्रु वृद्धि दर ५ प्रतिशत (२०२१–२०२४), ४ प्रतिशत (२०२५–२०३०), ३प्रतिशत (२०३१–२०३५) हुने सङ्ख्यालाई आधार मानेर काम भइरहेको छ। 

सम्झौता भए अनुसार हाल विमानस्थल निर्माणको वित्तीय प्रगति ४३  प्रतिशत र भौतिक प्रगति ५४ प्रतिशत भएको खड्काले बताए।

‘बन्दै गरेको भौतिक संरचनामा यात्रु चेक इन काउन्टर १४ वटा छन्’ उनले भने, ‘मिडिया सम्मेलन एउटा, भिआइपी कक्ष ३ वटा, त्यसकालागि भिआइपी प्रतीक्षाको व्यवस्था हुनेछ।’ 

त्यस्तै कन्भेयर बेल्ट आगमन र प्रस्थान दुवैमा हुने भनिएको छ। 

‘एयरलाइन्सका कार्यालयहरू, ४ वटा लिफ्ट,  एस्केलेटर ४वटा, भर्‍याङः ५ वटा  रहने डिपिआरको व्यवस्था अनुसार नै काम भइरहेको खड्काको भनाई छ।  विमानस्थल भित्रै बालबालिकाको खेल क्षेत्र क्वारेनटिन, शिशु कक्ष पनि बन्नेछ,’ उनले भने।

टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन करिब १६ हजार वर्ग मिटरको छ।

गौतम बुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ। बन्दै गरेको विराटनगर विमानस्थलको टर्मिनल भवन १६ हजार ५९० वर्ग मिटरमा फैलिएको छ।

विराटनगर विमानस्थल विसं २०२५ मा बनेको पुराना भवनहरूबाट सञ्चलन हुँदै आएको थियो। विमानस्थलको टर्मिनल भवनसँगै यहाँको धावन मार्ग पनि विस्तार भएको छ। १५ सय मिटरमा फैलिएको रनवेलाई २७५ मिटर विस्तार गरी १७७५ मिटर पुगेको छ। 

सिभिल तर्फको निर्माण सम्पन्न अन्तिम चरणमा रहेकोले त्यस लगतै सामानहरू जडान हुन थालेपछि खर्चको प्रगति बढ्ने इन्जिनियर खड्का बताउँछन्।   

‘त्यहाँ आवश्यक पर्ने सामानहरू सबै आइसकेका छन्, उनले भने, सिभिल निर्माण कार्य सम्पन्न भएसँगै सामाग्री जडान हुँदा प्रगति  एक्कै पटक बढ्नेछ।’ 

अन्तर्राष्ट्रिय स्तरको भवन निर्माणको काम सकिनै लाग्दा रनवे विस्तारको लागि जग्गा अधिग्रहणको काम भने सरकारले गर्न सकेको छैन।  रनवेलाई २५ सय मिटर बनाउँदा मात्रै विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने क्षमता राख्ने प्राधिकरणको भनाई छ। 

सरकारले आन्तरिक टर्मिनल भवन निर्माण गर्दै जाने अनि ८१ बिगाहा जग्गा अधिग्रहण गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने भनिए पनि सरकारले जग्गा अधिग्रहणको काममा ध्यान दिएको छैन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad