ताप्लेजुङको फुङलिङ बजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।
ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, हुलदंगा, झडप र प्रतिकूल स्थितिलाई ध्यान दिँदै आज (फागुन ११ गते) बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हाे।
स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बजार क्षेत्रका लागि निषेधाज्ञा जारी गरेका हुन्।
जसअनुसार निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको गरिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन्।
आदेश उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।
प्रशासनले फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्व- फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी, पश्चिम- फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म) र उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानीलाई निषेधाज्ञा लगाइएको छ।
दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोलसम्म ताेकिएकाे छ । त्यस्तै काफ्लेपाटी - बल्लुडाँडा क्षेत्रलाई पनि निषेधाज्ञा लगाएको छ। पूर्व- पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिम बल्लुडाँडा/ डडेले इलाका, उत्तर - केबलकार बेस स्टेसन/ पानीको मुहान इलाकाको १०० मिटर , दक्षिण- नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत) लाई आधार मानेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ।
शनिबार मात्र ताप्लेजुङमा झडप हुँदा १० जना घाइते भएका छन्।
Shares

प्रतिक्रिया