कोशी


स्थानीयले अपनत्व लिन नसकेको ‘नो केबलकार आन्दोलन’

स्थानीयले अपनत्व लिन नसकेको ‘नो केबलकार आन्दोलन’

सुमन सुस्केरा
फागुन ९, २०८१ शुक्रबार १७:५, विराटनगर

पाथीभरा क्षेत्रमा केबलकार शिलान्यास भएको दिनदेखि ताप्लेजुङको त्यो क्षेत्र तनावग्रस्त छ। कात्तिक २३ गते ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको काम सुरु भएको थियो। शिलान्यासको दिन नै स्थानीय केही व्यक्तिहरूले विरोध गरे।

तत्कालीन रूपमा विरोध गर्नुको मुख्य कारण भनेको त्यहाँ दैनिक आएका सर्वसाधारणलाई बोकेर गुजारा चलाउनेहरूले केबलकार बन्दा आफू त्यस कामबाट विस्थापित हुनु पर्ने भएकोले स्थानीयको सहयोगमा शिलान्यास गर्न अवरोध गरेका थिए। प्रहरीको घेराकाबीच केबलकार निर्माण गर्ने भन्दै शिलान्यास भयो। संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले काफ्ले काफ्ले पाटीमा शिलान्यास गरेका थिए।

केबलकार निर्माणको जिम्मा हिमालय कन्स्ट्रक्सनले लिएको छ। कन्स्ट्रक्सनले काम थाल्दै गर्दा पनि स्थानीयले विरोध गर्न छाडेनन्। स्थानीयको आन्दोलन बढ्दै जाँदा काफ्ले पाटी क्षेत्रमा प्रशासनले सशस्त्र र नेपाल प्रहरीको अस्थायी क्याम्प नै राखिदियो। त्यसको पनि स्थानीयले विरोध गर्दै आए।

केबलकार निर्माणमा स्थानीयको असहयोग हुन थालेपछि प्रहरीको क्याम्प राखेको प्रशासनले जनाएको छ। त्यसको पनि त्यहाँ विरोध भयो। प्रदेशसभा सदस्य निर्मला तावाले प्रदेश सभामै काफ्ले पाटीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी राखेर जनतालाई दु:ख दिएको भन्दै हटाउन नै माग गरेकी थिइन्।

सुरुका दिनमा जुन अनुहार आन्दोलनमा थियो त्यो अनुहार अहिले खासै अगाडि नदेखिएको सुरक्षा निकायको बुझाई छ। आन्दोलनको रूप नै परिवर्तन हुँदै गएको छ। हिजो स्थानीयको रोजीरोटीसँग जोडिएको विषय अहिले पहिचानको आन्दोलनको नेतृत्व गरेका नेताहरूले कब्जामा लिई सकेको बुझाई स्थानीयको छ। 

माघ १२ गते साँझ भएको घटनाले अझ बढी स्पष्ट पारेको प्रहरी प्रशासनको बुझाई छ। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पाटी भन्दा माथिल्लो डाँडामा प्रहरीलाई लक्षित गरेर ठूलो समूहले आक्रमण गरेपछि प्रहरीले गोली नै चलाएको थियो। गोली लागेर २ जना गम्भीर घाइते भएका थिए भने थप अरू दुई जना आन्दोलनकारी र प्रहरीतर्फ दुई दर्जन बढी घाइते भएका थिए। यो दिनसम्म आउँदा आन्दोलन अरूको हातमा गई सकेको बुझाई आन्दोलनलाई नजिकैबाट नियालेकाहरू बताउँछन्।

चाहिँदैन भन्ने थोरै
स्थानीयहरू सुरुका दिनदेखि नै केबलकार बनाउनु पर्छ भन्ने मै देखिन्छन्। शिलान्यासको दिन आन्दोलन गर्नेहरूले पनि पाथीभरा केबलकारलाई मुक्कुम्लुङ शब्द राख्नु पर्छ भनेर आफ्ना कुराहरू राखेको ताप्लेजुङका व्यवसायी तथा पूर्व प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ बताउँछन्।  

‘शिलान्यासको बेलामा मुक्कुम्लुङ शब्द राख्नु पर्ने, ५–७ सय मिटर तल स्टेसन राख्नु पर्ने लगायतका केही मागहरू थिए,’ उनले भने, ‘स्थानीय बनाउनु पर्छ भन्ने धेरै छन्, बनाउनु हुँदैन भन्ने थोरै छन्।’ 


केबलकार बनाउने बारेमा ताप्लेजुङ सबै दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरू केबलकार बनाउनु पर्छ भन्नेमा नै देखिएको उनले सुनाए।

पछिल्लो दिनमा बाहिरका मानिसहरू आएर शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित पार्ने काम गरेको स्थानीय बताउँछन्। हिजोको पदयात्रा सहितको क्षमा पूजामा स्थानीय शान्तिपूर्ण रूपमा क्षमा पूजा गरेर फर्किँदै थिए, बाहिरका केही केही व्यक्तिले माथिबाट प्रहरीमाथि आक्रमण गर्न थालेपछि अवस्था बिथोलिएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ। 

‘हामी माथि क्षमा पूजा गरेर फर्किँदै थियौँ,’ ती स्थानीयले भने, ‘हामी पछि पछि थियौँ, अगाडि हिँड्दै गरेका केही व्यक्तिहरूले प्रहरीलाई आक्रमण गर्न थालेपछि हामी भाग्नु परेको थियो।’

प्रहरीले अश्रुग्यास हान्न थालेपछि ढुङ्गाको आड लागेर आफू भागेर घर आएको उनको भनाई छ। पदयात्रामा बाहिरबाट आएका मान्छेहरूका कारण हिजोको घटना भएको स्थानीय बताउँछन्।  

जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले आन्दोलन बाहिर गई सकेको बताए। स्थानीयले आफ्ना कुरा राखेर सुरु भएको यो आन्दोलन स्थानीयका कुरा भन्दा पनि बाहिर गइसकेकोले  पर्गेल्न समय लाग्ने बताउँछन्।  

‘हरेक दिन आन्दोलन भइरहेका छन्,’ उनले भने, ‘मैले यो समस्या समाधान गर्नको लागि वार्ताको वातावरण बनाएको भए पनि समस्या समाधान हुन सकेन।’

आज पनि अशान्त छ काफ्ले पाटी क्षेत्र
तीन दिनअघि मात्रै स्थानीयले केबलकारको पक्षमा शान्ति र्‍याली निकाले। स्थानीयको समृद्धिसँग केबलकार जोडिएकोले केबलकार बन्नु पर्ने नारा सहित निकालिएको सद्भाव र्‍याली हेर्दा  स्थानीय केबलकार बनाउनु पर्छ भन्ने सङ्केत गर्थ्यो। 

सद्भाव तथा शान्ति र्‍याली निकालेको दुई दिन नबित्दै काफ्लेपाटीले फेरि अर्को झडपको सामना गर्नुपर्‍यो। बिहीबारको आन्दोलन अरू दिनको भन्दा फरक थियो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जोङ बिहीबार ताप्लेजुङको माथिल्लो फेदीमा पुगेपछि त्यहाँको स्थिति थप तनावग्रस्त भएको सुरक्षा अधिकारीहरूको भनाई छ।  

महतो र चेम्जोङको उक्साहट लगत्तै आन्दोलनरत पक्ष केबलकार निर्माणस्थल काफ्ले पाटी नजिकै पुगेर सुरक्षाकर्मीमाथि खनिएका थिए। त्यसपछि झडप भएको थियो। घाइतेको उद्धार गर्न सदरमुकाम फुङलिङवाट गएको गाडीलाई प्रदर्शनकारीले बाटैमा तोडफोड गरेर त्यसका चालक राजकुमार पौडेललाई कुटपिट गरेपछि आज ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले यातायात ठप्प पारेको छ। यातायातका साधनहरू ताप्लेजुङ छिर्न सकेक छैनन्।

आज पनि उक्त क्षेत्रमा केहीबेर भनाभन तथा घम्साघम्सी भएको स्थानीय प्रशासनले जनाएको छ। काफ्ले पाटी र बालुडाँडा क्षेत्रमा केहीबेर तनाव भएको थियो। प्रदर्शनकारीले सुरक्षा निकायका लागि ल्याइएको खानेपानीको पाइप काटिदिएका छन्। ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी सन्दिपा खड्काका अनुसार आन्दोलनरत पक्षले खानेपानीको पाइप काटिदिएपछि नाराबाजी गरेका थिए।

पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुम स्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेट्न नहुने भन्दै त्यसलाई यथावत् अवस्थामा राख्नु पर्ने माग गर्दै नो केबलकार मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति सहित पहिचानवादी पक्षले आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad