कोशी


सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

नेपालखबर
माघ १९, २०८१ शनिबार २१:०, सोलुखुम्बु

हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। 

पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गत पुस २३ गतेदेखि माघ १९ गतेसम्म विभिन्न स्थानमा आगलागी तथा हावाहुरीका घटनाहरू भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। 

हावाहुरीका कारण सात वटा घरको छानो उडाएको छ भने एउटा गुम्बा, तीन वटा गोठ, एउटा सरकारी कार्यालय, चार स्थानको सोलार प्यानल र एउटा विद्यालयको छानो उडाएर क्षति भएको छ। 

त्यसैगरी आगलागीका कारण चार वटा घर, एउटा गोठ जलेर नष्ट भएका छन् भने चार वटा सामुदायिक वन र तीन वटा निजी वनमा डढेलो फैलिएको छ। प्रहरीको तथ्यांक अनुसार हावाहुरीका घटना खुम्बु पासाङल्हामु गाउँपालिकामा १४ र सोलुदूधकुण्ड नगरपालिकामा तीन वटा भएका छन्। 

त्यस्तै आगलागीका घटना सोलुदूधकुण्डमा पाँच, सोताङमा तीन वटा, महाकुलुङमा एउटा, माप्यदूधकोसीमा दुई र नेचासल्यानमा एउटा दर्ता भएका छन्। 

सबैभन्दा गम्भीर घटना सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा पुस २४ गते राति भएको थियो। उक्त आगलागीमा परी टाक्सिन्दु निवासी नवराज खालिङ राईको ज्यान गएको प्रहरीले जनाएको छ। 

सोलुखुम्बुमा पछिल्लो केही दिनयता हावाहुरीले ठूलो क्षति गराइरहेको छ। माघमा चलेको बेमौसमी हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा संरचनाहरुमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए। 

‘माघ लागेपछि चलेको तीव्र गतिको हावाले जिल्लामा सरकारी संरचनासहित निजी संरचनाहरूमा पनि क्षति पुर्‍याइरहेको छ। सबैभन्दा बढी क्षति खुम्बुमा गरेको छ, हावाका कारण आगलागी तथा डढेलोको घटनामा पनि त्यतिकै बढेको छ’, उनले भने।

हावाहुरीको सबैभन्दा बढी चपेटामा सगरमाथा क्षेत्र परेको छ। जहाँ पछिल्लो पाँच दिनमा १४ वटा संरचनामा क्षति पुर्‍याएको स्थानीय प्रहरीले जनाएको छ। 

यसैबीच प्राकृतिक विपद्बाट प्रभावित स्थानीयवासीका लागि तत्काल राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकार भएका निकायहरूले बताएका छन्।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad