पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गल्ती नै नगरेको जलवायु परिवर्तनको असर नेपालीले खेप्नु परिरहेको बताएकी छन्।
मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सव आसवरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण हाम्रा सुन्दर सेताम्मे हिमालहरू काला पत्थरमा परिणत भएकोमा चिन्ता व्यक्त गरिन्। उनले जलवायु परिवर्तन विश्व समुदायको नै एउटा समस्याको रूपमा खडा भएको बताइन् ।
‘जलवायु परिवर्तनको लागि नेपाली कारक हैन, हामीले हरित ग्यास उत्सर्जन गरेका छैनौँ,’ उनले भनिन, ‘तर पनि हाम्रो मुलुकले जलवायु परिवर्तनको नकारात्मक असरबाट अत्यन्तै बढी प्रभावित हुनु परिरहेको छ।’
हाम्रा देशका सुन्दर सेताम्मे हिमालहरू आज काला पत्थरमा परिणत हुँदै आएको, मौसमी चक्रमा उत्पन्न असन्तुलनका कारण अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खा, खडेरी र डढेलोजस्ता विषम प्राकृतिक प्रकोपहरूको सामना गरिरहनु परेको उनको भनाई छ।
जलवायु सङ्कटबाट जैविक विविधता र मानव सभ्यतालाई जोगाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न उनले आग्रह गरिन्। अहिलेको शिक्षा प्रणालीले यसलाई आफ्नो मुख्य एजेन्डा तथा विषयको रूपमा लिनु पर्ने उल्लेख गरिन्। भण्डारीले नियमित पाठ्यक्रमका अतिरिक्त विविध रचनात्मक क्रियाकलापको माध्यमबाट विद्यालयले विद्यार्थीहरूलाई नागरिक शिक्षा सम्बन्धी विषयमा जलवायु सम्बन्धी सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताएकी छन्।
भण्डारीले समय सापेक्ष विद्यार्थीलाई सीपमूलक र व्यवहारिक शिक्षा आवश्यक भएको समेत बताइन्। उनले समग्र शैक्षिक प्रणाली समय अनुकूल सुधार गर्दै लैजानु पर्नेमा जोड दिइन्।
जनशक्तिको प्रक्षेपणको आधारमा विभिन्न विधा र क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र श्रम बजारको माग बमोजिम प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सरकारले शैक्षिक संस्थाहरूसँग समन्वयात्मक कार्यहरू गर्नु पर्नेमा भण्डारीको भनाई छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विद्यालयले सम्मान गरेको छ। पूर्व प्रधानाध्यापकहरू बलराम पोखरेल, गोविन्द भगत र तिलक सापकोटालाई सम्मान गरिएको छ।
पूर्व विद्यार्थीहरू वरिष्ठ फिजिशियन डा. दिनेश न्यौपाने, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, उप प्राध्यापक दुर्गाप्रसाद लुइँटेल र बैंकका शाखा प्रबन्धक सञ्जीव चौधरीलाई सम्मान गरिएको छ। यस्तै स्कुल निर्माणका निम्ति १ बिगाहा १९ कट्ठा जग्गा दान दिने स्वर्गीय सरस्वतादेवी निरौलाका पुत्रबधु सावित्रादेवी निरौलालाई सम्मान गरिएको थियो।
विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले कृषि, विज्ञान, नर्सिङ र प्राविधिक धारका बस्तुहरूको प्रदर्शनी गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोककुमार लुइँटेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। २०१४ मा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा बाल कक्षादेखि १२ सम्म एक हजार ८ सय विद्यार्थी अध्ययनरत रहेको लुइँटेलले जानकारी दिए।
प्रदेश सांसद भीम पराजुली, जयप्रकाश चौधरी, ललिताकुमारी चौधरी र ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी लगायतको विद्यालयको प्रगति बारेमा प्रशंसा गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार सरदारले शिक्षक, कर्मचारी सहित विद्यार्थी र अभिभावकहरूको सहयोगले विद्यालय अब्बल बनेको बताए।
Shares

प्रतिक्रिया