प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएको छ।
मोरङ जिल्ला अदालतमा सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस सकिएको हो।
अन्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन्।
मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी कोइरालाको बयानपछि सरकारी वकिल र अञ्जला पक्षका कानुन व्यवसायीले बहस गरेका छन्।
मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासमा अभियोग पत्रमा उल्लेख भएका केही विषयलाई सरकारी वकिललाई न्यायाधीशले प्रस्ट्याउन भनेका थिए।
सरकारी वकिलले बहस गरिरहँदा न्यायाधीश भट्टराईको प्रश्न थियो, ‘कसको दायित्व कति हो भन्ने नै उल्लेख छैन नि?’
सरकारी पक्षले २०७२/०७३ देखि अन्जला सञ्चालक समितिमा रहेकोले उनीसहित सबै अभियुक्तको दायित्व हुने जवाफ दिएका थिए।
पछिल्ला दिनमा सहकारीहरू धराशयी भएको पनि सरकारी वकिलको तर्फबाट स्पष्ट पार्ने प्रयास भएको थियो।
कोइरालाको तर्फबाट बहस गरेका कानुन व्यवसायीले जति कसुर गरेको हो, त्यति मात्र सजाय हुनुपर्नेमा गोलमोटल अभियोग लगाइएको तर्क गरेका छन्।
२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ। भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अन्जलाले रकम अपचलन गरेको भन्ने नदेखिएको, २० जनाको जाहेरीमा कहीँकतै पनि अन्जलाको विरुद्धमा किटानी नभएको तथा १९ जनाले गरेको कागजमा समेत नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा अञ्जलताको कुनै संलग्नता नरहेको दाबी उनका कानुन व्यवसायीले गरेका थिए।
‘कुनै पनि कम्पनीको सेयर भनेको लगानीकर्ता हुन्, लगानीकर्ताको डुबेको रकममा अरूको दायित्व नहुने भएकोले दाबी नै गलत’ भनी उनका वकिलले जिकिर गरे।
अन्जलाको तर्फबाट ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका छन्।
उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अन्जला, रङ्गेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। बहस सकिएकोले अन्जनालाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आजै आदेश आउने अदालत प्रशासनले जनाएको छ।
Shares

प्रतिक्रिया