झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसजस्ता ठूला दललाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन् ।
आइतबार सम्पन्न उपचुनावको मतगणनाअनुसार चापाकल चुनाव चिह्न लिएर उठेका लक्ष्मीप्रसाद ४९३ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत पाउँदा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाए । माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन्।
लक्ष्मीप्रसाद अघिल्लो चुनावपमा पनि वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए। त्यतिखेर एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर विजयी भएका थिए। लक्ष्मीप्रसाद ४४० मत ल्याएर दोस्रो भएका थिए। त्यतिखेर उनको चुनाव चिन्ह जेब्रा (वनघोडा) थियो।
अहिले उनले फरक चुनाव चिन्ह चापाकल पाएका भए पनि त्यसले चुनावमा कुनै असर गरेन र एमालेसँग बदला लिन सफल भए।
झापाको कन्काईमा एमाले–कांग्रेसलाई हराउँदै स्वतन्त्र विजयी
मत परिणाम सार्वजनिक भएपछि उनले आफ्नो जितलाई जनताको जित भएको बताएका छन्। मतगणनास्थलबाटै उनले भने, ‘यो जनताकै जित हो। उहाँहरूको हृदयमा बस्न म सफल भएको रहेछु।’
चुनावअघि उनले ३७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए। त्यसैअनुसार काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
लक्ष्मीप्रसाद २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका थिए। त्यतिखेर एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएका थिए। अर्को चुनावमा उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए र एमालेसँग पराजित भए।
यसपटक उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समर्थन थियो। तर, रास्वपा सभापति रवि लामिछाने विवादमा परेका बेला पार्टीको झण्डा र चुनाव चिन्ह लिन भने उनले अस्वीकार गरेका थिए।
Shares

प्रतिक्रिया