नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति भएपछि कोसीमा पनि सत्ता गठबन्धन परिवर्तन हुने भएको छ।
कोसी प्रदेशमा अहिले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार छ। अब कोसी सरकारमा नेकपा भित्रिने भएपछि कांग्रेस बाहिरिने निश्चित भएको छ।
नेकपासँग भएको सहमतिअनुसार कोसी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ।
त्यसो त अहिले कोसीमा एमालेकै नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्।
तर सत्ता समीकरण फेरिएसँगै कार्कीको ठाउँमा एमालेकै तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाइने चर्चा चुलिएको छ।
मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली नै सकारात्मक रहेको खबर बाहिरिएपछि एमाले र कोसीको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।
तर हालका मुख्यमन्त्री कार्कीले सरकार परिवर्तन वा मुख्यमन्त्री फेरिनेबारे पार्टीबाट आफूलाई कुनै आधिकारिक जानकारी नआएको दाबी गरेका छन्।
मुख्यमन्त्री कार्कीले पार्टीको नीति र निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका छन्।
यो अप्ठ्यारो स्थितिमा हालको मुख्यमन्त्रीलाई नचलाई यथावत् राख्दा राम्रो हुने उनको भनाइ छ।
यद्यपि पार्टीले पद छाड्न भनेको खण्डमा आफू तयार रहेको पनि मुख्यमन्त्री कार्कीले बताए।
नयाँ परिस्थितिअनुसार अघि बढ्ने मानसिकतामा आफू रहेको उनले बताए।
यता मुख्यमन्त्री पदको दाबेदारका रूपमा हेरिएका एमाले कोसी प्रदेशका संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो भने परिस्थिति सकारात्मक दिशामा अघि बढेको दाबी गर्छन्।
अध्यक्ष ओलीसहितका शीर्ष नेताहरूसँगको संवाद र सहमतिको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि आफू मुख्यमन्त्री पदका लागि तयार रहेको उनले जिकिर गरे।
यद्यपि एमालेले मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिन्छ वा मेन्याङ्बोलाई अघि सार्छ भन्ने कुरा एमाले शीर्ष नेताले गर्ने निर्णयमा निर्भर रहने देखिएको छ।
कोसी प्रदेशको अवस्था अरू प्रदेशको भन्दा पृथक रहेकाले नयाँ सरकारमा पनि मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको कतिपय एमाले नेताको भनाइ छ।
एमाले स्रोतको दाबीअनुसार एमाले अध्यक्ष ओली पार्टी सचिव कार्कीलाई मुख्यमन्त्री पदबाट हटाउन चाहन्छन् भने अन्य पदाधिकारी हटाउन नहुने अडानमा छन्।
हालका मुख्यमन्त्री कार्की २०८१ वैशाख २७ गतेदेखि कोसी सरकारमा छन्।
आजभोलितिरै कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेको जानकारी स्रोतले नेपालखबरलाई दिएको छ।
हाल कोसी प्रदेश सरकारमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकासमन्त्री, मानबहादुर लिम्बु स्वास्थ्य मन्त्री, भीम पराजुली पर्यटन वन तथा वातावरण मन्त्री र इसराइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्रीमा र शोभा पालुङ्गवा तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन्।
Shares

प्रतिक्रिया