ad ad

कोशी


बंगलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश आइपुगे नेपाली विद्यार्थी

बंगलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश आइपुगे नेपाली विद्यार्थी

बंगलादेशबाट फर्केपछि काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भेला भएका नेपाली विद्यार्थी।


नेपालखबर
साउन ७, २०८१ सोमबार ५:३४, झापा

बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आइतबार मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन्। 

‘पछिल्लो दुई दिनको तुलनामा आइतबार विद्यार्थीको आगमन बढेको हो’, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने।उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए। 

बंगलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो। सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए। 

आइतबार दिउँसो काँकडभिट्टा आइपुेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताइन्। 

इटहरी निवासी राईका अनुसार विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बंगलादेश सरकारले सुरक्षा दिएको थियो। ‘कलेजका प्राध्यापक र  कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्‍याउन आउनुभयो’, उनले भनिन्, ‘कर्फ्यु लागेको अवस्थामा बंगलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ।’

आइत मात्रै नौवटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिइन्। केही विद्यार्थी भुटानबाट समेत आएका थिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .