ad ad

कोशी


कोशीमा एमालेबाट मन्त्री बनेका रानाले राजीनामा दिने

कोशीमा एमालेबाट मन्त्री बनेका रानाले राजीनामा दिने

एमालेबाट कोशी सरकारको विना विभागीय मन्त्री नियुक्त भएका रामबहादुर राना मगर (फाइल तस्बिर)


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार २०:३५, काठमाडौँ

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार भएपछि असन्तुष्ट बनेको एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ।

सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसका असन्तुष्ट केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले पुनः केन्द्रीय गठबन्धनकै आदेशमा चलेको भन्दै सरकारबाट बाहिरने तयारी गरेको हो।

कार्की संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका एक/एक जनालाई मन्त्री नियुक्त गरेका थिए।

एमालेबाट रामबहादुर राना मगर र कांग्रेसबाट शमशेर राईलाई मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्रीको शपथ गराएका थिए।

तर शुक्रबार आफूहरूसँग कुनै छलफल नगरी सरकार विस्तार गरेपछि रानाले राजीनामा दिने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दाबी गरे। 

कोशीको राजनीतिक परिस्थिति फेरिएसँग शुक्रबार साँझ नेपालखबरसँग कुराकानी गर्दै भण्डारीले आफ्नो पार्टीबाट मन्त्री बनेका राम रानाले राजीनामा दिने निश्चित भएको दाबी गरेका हुन्। 

‘आज रात पर्यो। उहाँले राजीनामा दिने निश्चित हो। भोलि सार्वजनिक बिदा भएका कति सम्भव हुन्छ हेरौं,’ भण्डारीले भने, ‘नभए पर्सी राजीनामा दिने निश्चित हो। सरकारबारे अन्य विषयमा निर्णय गर्न हामी पार्टी संसदीय दलको बैठक बोलाउँछौं।’

पार्टीका केही सांसदहरू बाहिर भएकाले बैठकबारे जानकारी दिन लागिएको पनि उनले बताए। 

‘कतिपय साथिहरू बाहिर भएकालेमात्रै हो। बैठक भोलि (शनिबार) नै बस्ने सम्भावना छ। बैठकबारे भोलि सबैलाई खबर गर्छौं,’ उनले भने।

मुख्यमन्त्री कार्कीले शुक्रबार साँझ माओवादीका गणेश उप्रेती र समाजवादीका जबेगुलाई मन्त्री नियुक्त गरेका छन्। दुवै मन्त्रीले प्रदेश प्रमुखसमक्ष शपथ लिइसकेका छन्। 

उनीहरूको मन्त्रालय भने तोकिएको छैन। 

एमालेले भने आफूहरूसँग सल्लाह नभई सरकार पुर्नगठन भएको भन्दै असन्तुष्टि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .