ad ad

कोशी


ताप्लेजुङमा पहिरोमा परी छोराको मृत्यु, बाबु बेपत्ता, बाढीले ३ जना सम्पर्कविहीन

ताप्लेजुङमा पहिरोमा परी छोराको मृत्यु, बाबु बेपत्ता, बाढीले ३ जना सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार १२:१, फुङ्लिङ

ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर  बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको  जानकारी दिए। 

त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएको  प्रहरी निरीक्षक कार्कीले बताए।  वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजीमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए। उनका अनुसार पहिरोमा गम्भिर घाइते भएका राजकुमार राईलाई उपचारमा लैजानसमेत समस्या भइरहेको छ। 

ओढारमा बसेका तीन जनाको सम्पर्क 

ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा (गोठ) बगाएर ओढारमा अलपत्र परेका तीनजना सम्पर्कविहीन भएका छन्। बाढीपहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।

निरन्तर वर्षासँगै बाढी पहिरोले उँहाहरु बसेको याक्सा छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे/ बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए। 

उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिएका छन्।

उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी पर्न केही छिनमा रोक्ने केही छिनमै पर्ने क्रम चलिरहेको छ।” सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइ छ। आज पनि स्थानीय र प्रहरी उद्धारका लागि तयारी अवस्थामा रहे पनि  खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए। 

उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .