ad ad

कोशी


ल है बालेनज्यू, यो निर्णय अब धरानतिर पनि लागू गरिनेछ– हर्क साम्पाङ

ल है बालेनज्यू, यो निर्णय अब धरानतिर पनि लागू गरिनेछ– हर्क साम्पाङ

फाइल फाेटाे : बालेन्द्र (बालेन) शाह र हर्क साम्पाङ


नेपालखबर
बैशाख १७, २०८० आइतबार १९:८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले लागू गरेको आफ्नो क्षेत्रभित्रका विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउने नियम धरान उपमहानगरपालिकाले पनि पछ्याउने भएको छ। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आइतबार सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम महानगरभित्रका विद्यालयका नाम र चिह्नमा एकरूपता ल्याउन खोजिएको कुरा जानकारी गराएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नगरमा पनि यो नियम लागू गर्ने बताएका हुन्। 

मेयर बालेनले सार्वजनिक गरेको उक्त नियमावलीअनुसार विद्यालयको चिह्न षट्कोण हुनेछ। विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ। 

यस्तै, समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ। तर यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ। 

कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘पब्लिक’ शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘नेसनल’ शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ। कुनै संस्थागत विद्यालयले आफ्नो नाममा ‘इन्टरनेसनल’ शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विदेशी विद्यार्थी हुनुपर्नेछ। विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ। 

तर यो उपनियम लागू हुनुअगावै नियम विपरीतका शब्द जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक–सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने मेयर शाहले उल्लेख गरेका छन्। 

मेयर शाहले उक्त नियम पालना गर्दै विद्यालयका चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्डअनुरूप रहन आग्रह गरेका छन्। नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन्। 

यसैबीच धरान उपमहानगरपालिकाका मेयर साम्पाङले आफ्नो क्षेत्रमा पनि उक्त नियम लागू गर्ने बताएका छन्। 

मेयर शाहको पोस्टमा कमेन्ट गर्दै साम्पाङले लेखेका छन्, ‘ल है बालेनज्यू, यो निर्णय अब धरानतिर पनि लागू गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .