कोशी


निःशुल्क खाजा खाएका ३२ विद्यार्थी एकैचोटि बिरामी परेपछि क्यान्टिन सञ्चालक पक्राउ

निःशुल्क खाजा खाएका ३२ विद्यार्थी एकैचोटि बिरामी परेपछि क्यान्टिन सञ्चालक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १२:५, झापा

काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटि बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा १ देखि ६ सम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका हुन्। खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताइन्। 

खाजा खाएका ती विद्यार्थीलाई ‘फुड पोइजन’ भएको अस्पतालका चिकित्सकले जनाए। क्यान्टिनले दिएको खाजा विषाक्त भएको विद्यालय र प्रहरीको ठहर छ। काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले क्यान्टिन सञ्चालक विष्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए।

‘क्यान्टिनका सञ्चालकलाई सोधपुछ गरेका छौँ’, उनले भने, ‘बिहीबार बिहानै पकाइएको खाजा दिउँसो विद्यार्थीलाई खान दिइएको रहेछ। गर्मी याममा बिहानको खाजा दिउँसोसम्ममा अमिलिएर विषाक्त भइसकेको ख्याल नगरी लापर्बाही गरेको पाइयो।’

विद्यार्थीलाई सरकारले दिवा खाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ। विद्यालयका चौकीदारले परिसरभित्रै सञ्चालन गरिरहेको क्यान्टिनलाई रकम दिएर विद्यार्थीका लागि दिवाकालीन निःशुल्क खाजा बनाउन लगाउने गरिएको  थियो। बिहीबार खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको गुनासो आएको प्रहरीको भनाइ छ।

‘विद्यार्थीलाई पिउन दिइएको पानीमा मसिना कीरा भेटिएको गुनासो आएको छ, यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ’, प्रहरी नायब उपरीक्षक महतोले भने। 

विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने जानकारी दिए।

‘विद्यालयले दिवा खाजा निःशुल्क खुवाउने गरेको हो”, उनले भने, ‘गर्मी थियो, खाजा बासी हो कि भन्ने कुरा आएको छ। अब छानबिन हुन्छ।’

घटनापछि सो क्यान्टिन बन्द गरिएको छ भने क्यान्टिनका खानेकुराको नमुना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिइन्। 

विद्यालयकै क्यान्टिनको खाजा विषाक्त भएको घटनाप्रति स्थानीय अभिभावक आक्रोशित भएका छन्। क्यान्टिनले पहिलेदेखि नै लापर्बाही गरिरहेको गुनासो गर्दासमेत विद्यालय प्रशासनले गुणस्तर जाँचमा ध्यान नदिएको अभिभावकको आरोप छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad