राष्ट्रियसभाका रिक्त १८ सदस्यका लागि आज (माघ ११) सातै प्रदेशमा निर्वाचन हुँदै छ। तीमध्ये कर्णालीमा २ सिटका लागि मतदान हुँदै छ।
यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ।
ती दलबाट २ सिटका लागि ४ जना उम्मेदवार छन्।
कांग्रेस-एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मदेवार छन् भने नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन्।
कर्णाली प्रदेशमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको पदावधि फागुनमा सकिँदैछ। बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।
यस्तो छ अंकगाणित
कर्णालीमा प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ। यी दुई दलको कुल मतभार ३ हजार ५८ छ।
कर्णालीमा मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ भने दोस्रो नेकपा र तेस्रो एमाले छन्।
राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।
जसअनुसार कर्णालीमा नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार १२२ छ।
कर्णालीमा कांग्रेससँग प्रदेशसभातर्फ १५ सांसद र ५९ पालिका प्रतिनिधि गरी कुल १ हजार ९११ मतभार छ।
यस्तै तत्कालीन माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी कुल १ हजार ६०१ मतभार छ।
तत्कालीन एकीकृत समाजवादीको एक प्रदेशसभा सदस्यको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर जम्मा २४३ मतभार छ।
यसो हुँदा नेकपासँग कुल १ हजार ८४४ मतभार हुन्छ।
यस्तै एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी १ हजार १९५ मतभार छ। राप्रपाको १ प्रदेश सांसदको ५३ र ६ पालिका गरेर एक सय ६७ मतभार छ।
मतभार हेर्दा नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित देखिन्छ।
आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।
मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया