कर्णाली प्रदेशमा २०७४ र २०७९ सालका प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरू गठबन्धन गर्दै चुनावमा होमिए। जसका कारण १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा २०७४ मा नेपाली कांग्रेस र २०७९ मा नेकपा एमाले बढारिए।
कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा २/२ र बाँकी ८ जिल्लामा १/१ वटा निर्वाचन क्षेत्र छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि २०७४ मा भएको चुनावमा १२ सिटमै उनीहरूका उम्मेदवार विजयी भएका थिए। नेपाली कांग्रेस खाली हात भएको थियो।
२०७९ को निर्वाचनमा चाहिँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन हुँदा कर्णालीमा एमाले बढारिएको थियो।
२०७४ को चुनावमा कर्णालीमा कांग्रेसको जित शून्य हुँदा प्रभावशाली नेता पूर्णबहादुर खड्काले समेत हार बेहोर्नुपरेको थियो।
त्यस निर्वाचनमा एमालेतर्फका ६ र माओवादी केन्द्रतर्फका ५ तथा स्वतन्त्र १ उम्मेदवारले विजयी भएका थिए।
तर माओवादीसँगको एकता भंग भएपछि २०७९ को निर्वाचनमा कर्णालीमा एमालेको जित शून्य बन्यो। उक्त चुनावमा माओवादी केन्द्र-एकीकृत समाजवादी गठबन्धनसँग तालमेल गरेर अघिल्लो चुनावमा पत्तासाफ भएको कांग्रेसले पुनरागमन गर्यो।
गत प्रतिनिधि सभा निर्वाचनमा कर्णालीका १२ सिटमध्ये गठबन्धनले ११ वटा आफ्नो पोल्टामा पर्यो। माओवादीले ५, कांग्रेसले ४ र एकीकृत समाजवादीका ३ उम्मेदवारले चुनाव जिते। जुम्लामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार गोम कुँवर गौतम मात्र हारिन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले हराए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण त्यस चुनावबाट गठित प्रतिनिधि सभा विघटन भएकाले करिब २ वर्षअगावै फागुन २१ गते फेरि निर्वाचन हुँदै छ। जुन निर्वाचन कर्णालीमा रोचक हुने देखिएको छ।
किनकि यसपटक विगतमा जस्तो कुनै पनि दलले गठनबन्धन गरेका छैनन्। अर्थात् एकल रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
जसले गर्दा यसपालिको निर्वाचन विगतमा गठबन्धनबाट चुनाव जितेका नेताहरूको शक्ति परीक्षण हुने भएको छ।
तिनैमध्ये पर्छन्- तत्कालीन माओवादी केन्द्रका पूर्वउपमहासचिवद्वय जर्नादन शर्मा र र शक्तिबहादुर बस्नेत।
यसपटक शर्मा पहिलेकै निर्वाचन क्षेत्र रुकुम-पश्चिममा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्दै छन् भने बस्नेतचाहिँ माओवादीसमेत दर्जनभन्दा बढी वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीबाट जाजरकोटमा पुन: उम्मेदवार बनेका छन्।
यसअघि साविक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रिय पात्र शर्माले त्यस क्षेत्रमा निरन्तर चुनाव जितिरहेका थिए।
अहिले भने उनी पहिलोपटक प्रचण्डबाट अलग भएर चुनाव लड्दै छन्। यद्यपि उनी यसपटक पनि रुकुम-पश्चिमका जनताले आफ्नै पक्षमा मत हाल्नेमा ढुक्क देखिएका छन्।
तर उनलाई प्रचण्ड नेतृत्वको नेकपाबाट गोपाल शर्माले चुनौती दिँदै छन्।
जसले गर्दा माओवादीको गढ मानिएको रुकुम-पश्चिम यतिबेला दुई धारमा बाँडिएको अवस्था छ।
यसैले उक्त क्षेत्रमा अपराजित नेता शर्माको चुनावी नतिजा कस्तो आउला भन्ने जनचासो निकै बढेको छ।
तर नेकपाका वरिष्ठ नेता अग्नि सापकोटा आफ्नो पार्टी देशैभर एकताबद्ध रहेको र त्यसमा पनि रुकुमपश्चिममा अझ बलियो रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘त्यसैले हाम्रो जितमा कुनै शंका छैन।’
उता जाजरकोटमा नेकपाका अर्का उम्मेदवार हुन्- शक्ति बस्नेत।
जहाँ उनले २०७४ र २०७९ मा भएका दुवै निर्वाचन गठबन्धनको बलमा जितेका थिए। यसपटक उनको पनि शक्तिको परीक्षा हुने भएको छ।
यस्तै कालीकोटमा नेकपाबाटै अर्का उम्मेदवार हुन्- पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही।
२०७४ सालको निर्वाचनमा माओवादी-एमाले गठबन्धनबाट प्रदेश सभा चुनाव जितेर कर्णालीको पहिलो मुख्यमन्त्री बनेका शाही २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।
उनलाई चुनौती दिन उनकै पार्टीका नेता जीवन बुढाले बागी उम्मेदवारी दिएका थिए। तर आज मात्रै उनले उम्मेदवारी फिर्ता लिएका छन्।
तर पनि उनले यसपटक जनद्धयुकालका सारथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को चुनौती सामना गर्नुपर्नेछ। प्रकाण्ड पहिलोपटक चुनावी मैदानमा आउँदा कालीकोटका मतदातामा उत्साह देखिएको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) पनि कर्णालीका अर्का चर्चित उम्मेदवार हुन्। २०७९ को चुनावमा जुम्लाबाट उठेका उनले भारी मतले गठनबन्धनका उम्मेदवारलाई हराउँदै सांसद बनेका थिए।
यसपटक पनि उनी जुम्लामै उम्मेदवार बनेका छन्। शाहीलाई नेकपाका उम्मेदवार नरेश भण्डारीले टक्कर दिनेछन्।
गत चुनावमा माओवादी र कांग्रेसबिच भएको गठबन्धन हराएर राप्रपाले जितर्को बदला यसपटक लिने दाउमा छ- नेकपा।
गत प्रतिनिधि सभामा कर्णालीबाट चुनाव लडेका कांग्रेसका नेताद्वय पूर्णबहादुर खड्का (सुर्खेत-१) र हृदयराम थानी (सुर्खेत-२) भने यसपटक उठेका छैनन्।
२०७९ मा कर्णालीबाट विजयी उम्मेदवार
कांग्रेस
सुर्खेत-१ : पूर्णबहादुर खड्का (४२ हजार ६०७ मत)
सुर्खेत-२ : हृदयराम थानी (४२ हजार ६०७ मत)
दैलेख-२ : दिक्पालकुमार शाही (३४ हजार १५१ मत)
मुगु : ऐनबहादुर शाही (१४ हजार ७०२ मत)
माओवादी
रुकुमपश्चिम : जनार्दन शर्मा (३९ हजार ५४९ मत)
जाजरकोट : शक्तिबहादुर बस्नेत (३४ हजार १५१ मत)
कालीकोट : महेन्द्रबहादुर शाही (३४ हजार ४७४ मत)
हुम्ला : छिरिङ डम्ठुल लामा (भोटे) (१४ हजार ३७१ मत)
एकीकृत समाजवादी
सल्यान : प्रकाश ज्वाला (३५ हजार ७०० मत)
दैलेख-१ : अम्मरबहादुर थापा (१८ हजार २५६ मत)
डोल्पा : धनबहादुर बुढा (११ हजार २२५ मत)
राप्रपा
जुम्ला : ज्ञानेन्द्र शाही (२२ हजार ८ सय १९ मत)
Shares

प्रतिक्रिया