जेनजी विद्रोहपछि फागुन २३ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा १३ जना जेनजी समूहका उम्मेदवार छन्।
१० जिल्ला रहेको कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन्। जहाँ यसपटक १३८ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन्।
तीमध्ये १३ उम्मेदवार जेनजी अर्थात् २८ वर्षमुनिका छन्। यिनमा पुरुष ११ र महिला २ जना छन्।
जेनजीका सबै १३ जना साना दल र स्वतन्त्रबाट उम्मेदवार बनेका छन्। तर ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले जेनजीमा पर्ने एक जनालाई पनि उम्मेदवार बनाएका छैनन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले जेनजीलाई उम्मेदवार बनाएका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीले डोल्पाबाट २६ वर्षीय विकास बुढालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले मुगुमा २५ वर्षीय भुवन टमटा र हुम्लामा २६ वर्षीय टासी ल्हान्जोमलाई उठाएको छ।
यस्तै नेपाल जनता पार्टीले कालीकोटमा २६ वर्षीय रनिल विक्रम शाही, मंगोल नेसनल अर्गनाइजेसनले जाजरकोटमा २५ वर्षीय कमान बुढा मगर, गतिशील लोकतान्त्रिक पार्टीले सुर्खेत-२ मा २८ वर्षीय पवन थापा मगरलाई र सुर्खेत-२ मै नेपाल जनसेवा पार्टीले २६ वर्षीय हृदयन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।
आम जनता पार्टी (एकल चुनाव चिह्न) ले पनि दैलेख–२ मै २७ वर्षीया तिर्थाकुमारी बंशीमगर विकलाई उम्मेदवार बनाएको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत-१ मा २८ वर्षीय रवि हमाल ठकुरीलाई उठाएको छ। ठकुरी जेनजी आन्दोलनमा अग्र स्थानमा रहेर सडकमा उत्रिएका थिए।
यस्तै कालिकोटमा २७ वर्षीय अस्मिनकुमार विष्ट र २६ वर्षीय मानबहादुर तिरुवा, दैलेख-२ बाट २६ वर्षीय हिमबहादुर शाही र सुर्खेत-२ बाट २७ वर्षीय कृष्ण खत्री गरी ४ जेनजीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया