कर्णाली प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन्।
शुक्रबारबाट जारी कर्णाली पर्यटन महोत्सवको उद्घाटन सत्रमा बोल्दै उनले आगामी बजेटमार्फत पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई थप सशक्त बनाइने दाबी गरेका हुन्।
उनले कर्णालीलाई पर्यटन क्षेत्रमार्फत समृद्ध बनाउने सरकारको स्पष्ट योजना रहेको उल्लेख गरे। उनले गैरआवासीय नेपाली संघका प्रतिनिधिको उपस्थितिलाई महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो ज्ञान, सीप, प्रविधि, अनुभव र आर्थिक स्रोत कर्णालीको विकाससँग जोड्न आग्रह गरे।
मन्त्री अधिकारीले कर्णाली नेपालको मौलिक सभ्यता, संस्कृति, प्रकृति र इतिहासको जीवित संग्रहालय भएको बताए। रारा ताल, शे–फोक्सुण्डो, सिंजा उपत्यका, उच्च डोल्पा, कर्णाली नदी, हिमाली पदमार्ग तथा धार्मिक एवं सांस्कृतिक सम्पदाले कर्णालीलाई विश्वकै आकर्षक पर्यटन गन्तव्य बन्ने असाधारण सम्भावना दिएको उनको भनाइ छ।
साथै, हुम्लाको सिमकोट क्षेत्र कैलाश मानसरोवर यात्राको महत्त्वपूर्ण प्रवेशद्वार भएको उल्लेख गर्दै कर्णाली पर्यटनसँगै संस्कृति, इतिहास र आध्यात्मिकताको केन्द्रका रूपमा विकास भइरहेको उनले बताए।
कार्यक्रममा भारतबाट पहिलोपटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका पत्रकार तथा पर्यटन व्यवसायीहरूलाई स्वागत गर्दै उनले कर्णालीको पर्यटन सम्भावना भारतमा समेत प्रचारप्रसार गरिदिन आग्रह गरे।
‘यहाँको बसाइ सहज र स्मरणीय होस्, फर्किएपछि ‘कर्णाली राम्रो छ, जानुपर्छ’ भनेर प्रचार गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने। उनले नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत अझ प्रगाढ र मित्रवत् बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया