नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोसी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।
शुक्रबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले नेकपा (एमाले)सँगको सहमतिमै सरकारको नेतृत्व परिवर्तन गरिने बताए। अहिले कांग्रेससँग चार मन्त्रालय छन्। एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन्।
सातै प्रदेशका सरकारमा सहकार्यबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको उनले सुनाए। गत साता सुर्खेतबाट फर्केपछि उनले गुण्डु पुगेर ओलीसँग छलफल गरेका थिए।
त्यही छलफलका आधारमा कोसीमा पनि सरकारको नेतृत्व परिवर्तन हुन लागेको उनले बताएका हुन्। कोसीमा पनि चाँडै सरकार परिवर्तन हुने बताउँदै शर्माले भने, ‘अहिले यसबारे म धेरै बोल्न चाहन्नँ तर यति चाहिँ सबैले प्रष्ट बुझ्ने गरी भन्छु– अब कोसी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछ।’
अहिले सबै प्रदेशमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार सञ्चालन गरिरहेका छन्। मधेस प्रदेशमा पनि बिहीबार मात्रै एमाले सरकारमा सहभागी भएको थियो।
Shares

प्रतिक्रिया