आगामी निर्वाचनका लागि हुम्लाबाट ७ जना उम्मेदवार मैदानमा छन्।
एमालेले दल फडेरालाई उम्मेदवार बनाएको छ। कांग्रेसले जयपति रोकायालाई अगाडी सारेको छ। नेकपाबाट डा. दिपेन्द्र रोकाया उठेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट छक्क बुढा, नेकपा (माओवादी)बाट कुम्भ बुढा (निर्माण सी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टासी ल्हाजोम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की छन्।
यसअघि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका जयबहादुर शाहीले एमालेका फडेरालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन्।
यहाँ मुख्य तीन दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
कांग्रेसका उम्मेदवार रोकाया हुम्लाका पूर्वपार्टी सभापति हुन्। उनी पहिलोपल्ट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए। २०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी अहिले पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्यको जिम्मेवारीमा छन्।
२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि पार्टीले रोकायाको नाम समानुपातिक सूचीमा राखेको थिए। तर, सांसद बन्न पाएनन्।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार फडेरा २०७४ सालमा अदानचुली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। २०७९ मा प्रदेशसभा निर्वाचन लडेका उनी तेस्रो भएका थिए।
२०५२ सालमा अनेरास्ववियुको तेह्रो राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट हुँदै उनले आफ्नो राजनीतिक यात्रा सुरुआत गरेका थिए।
उम्मेदवार फडेराले देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्रको सुदृढीकरण र संविधानको संरक्षणका लागि मैदान उत्रिएको बताए।
‘हुम्ला जिल्लाको समग्र विकासका लागि सडक, सिँचाइ, कृषि र पूर्वाधारलाई मुख्य आधार बनाइनेछ’, उनले भने, ‘कर्णाली करिडोर, उत्तर–दक्षिण लोकमार्ग, ग्रामीण सडक सञ्जालको स्तरोन्नति, पुल निर्माण तथा सार्वजनिक यातायातको व्यवस्थित विस्तार गर्ने योजना छ।’
नेकपाले पार्टीका केन्द्रीय सदस्य रोकायालाई उम्मेदवार बनाएको छ। २०७४ साल पछि केही वर्ष कर्णाली प्रदेश योजना आयोगको सदस्यमा प्रदेशको नीति निर्माण तथा विकासका काम गरेका थिए। रोकाया पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदैछन्।
रोकायाले हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताए।
डा. रोकायाले भावनात्मक राजनीति मात्र नभइ परिणाम देखिनेगरि काम गर्न नेकपालाई विजयी गराउन जरुरी रहेको बताए।
यहाँ एमाले, कांग्रेस र नेकपालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनौती दिने डर छ। २०७९ को निर्वाचनमा हुम्लाबाट समानुपातिकतर्फ १७१ मत प्राप्त गरेको रास्वपाले आगामी निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार उठाएको छ।
रास्वपाले भारतको दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा राजनीतिक शास्त्र पढेकी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीकी २६ वर्षीया टासी ल्हान्जोमलाई प्रतिस्पर्धामा उतारेको छ।
उनी सुरुमा रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजाति कलस्टरको महिलातर्फ पहिलो नम्बरमा परेकी थिइन्। तर, पार्टीले उनको नाम सूचीबाट हटाएर प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो। उनको नाम वर्तमान सरकारमा मन्त्रीको रूपमा सिफारिस पनि भएको थियो। तर, विवादमा तानिएपछि उनी पछि हट्नुपरेको थियो।
उनी भारतबाट पढेर फर्किएर केही समय नेपालस्थित अमेरिकी दूतावासमा पोलिटिकल र इकोनोमिक सेक्सनमा काम गरेकी थिइन्।
हुम्लामा धेरै जसो नागरिकहरू आदिवासी जनजाति भएकाले ती समुदायको मत टासीले तान्न सक्ने चिन्ता अन्य दलहरूले गरेका छन्।
यस्तो छ, विगतको निर्वाचन परिणमा
हिमाली जिल्ला हुम्लामा २०४६ सालदेखि २०७९ सम्म आइपुग्दा एउटै दलले लगातार दोस्रो पटक जितेको रेर्कड छैन्। ०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि मतदाताहरूले हरेक निर्वाचनमा फरक–फरक दल र उम्मेदवारलाई जिताएर सांसद बनाएका छन्।
०४८ सालमा भएको निर्वाचनमा हुम्लाबाट संयुक्त जनमोर्चा, नेपालका छक्कबहादुर लामा, ०५१ मा कांग्रेसका चक्रबहादुर शाही, ०५६ मा एमालेका गोरखबहादुर बोगटी, ०६४ मा माओवादीका कर्णजित बुढाथोकी विजयी भए।
यस्तै, ०७० मा कांग्रेसका जीवनबहादुर शाहीले ८ हजार ३३२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका दल रावलले ४ हजार ९३९ भोट पाएका थिए। ०६४ मा निर्वाचन जितेको माओवादी तेस्रो हुन पुग्यो। माओवादीका छक्कबहादुर लामाले ४ हजार ७५९ मत ल्याए।
तर, उनै लामा ०७४ को निर्वाचनमा स्वतन्त्र लड्दै निर्वाचित भए। उनले ८ हजार ४९१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धा नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत पाएका थिए।
एमाले–माओवादीबीच बनेको बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामा तेस्रो भए। उनले २ हजार ८५६ मत पाए।
०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट छिरिङ डम्डुल लामा (कार्चेन) विजयी भए। उनी नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरूको गठबन्धनबाट उम्मेदवार थिए। कार्चेनले १४ हजार ३७१ मत पाउँदा एमालेका रावलले ९ हजार ५१६ मत पाए। राप्रपाका तेजबहादुर रावतले ३७९ पाए।
७ स्थानीय तह रहेको हुम्लामा गत स्थानीय तह निर्वाचनमा ३ स्थानीय तहको प्रमुख कांग्रेसले तथा ३ नेकपाले जितेको छ भने एउटामा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।
४ उपप्रमुख/उपाध्यक्ष नेकपाले र कांग्रेसले ३ ठाउँमा जितेको छ।
आगामी निर्वाचनका लागि हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदान केन्द्र कायम भएका छन्। जिल्लाभरि ३४ हजार ३७२ मतदाता छन्।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ४९३ मत पाएको थियो। यस्तै, एमालेले ६ हजार १४७ मत पाउँदा कांग्रेसले ४ हजार ७६४ र समाजवादीले ८८८ मत पाएका थिए।
जिल्लामा दलहरूले पाएको समानुपातिक मत हेर्दा नेपाली कांग्रेसले ८ हजार १९२, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको संयुक्त ७ हजार ३६३, नेकपा एमालेको ५ हजार ९०७, नेकपा एकीकृत समाजवादीको १ हजार २१, नेकपा माओवादी समाजवादीको ७४७, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६९०, मितेरी पार्टी नेपालको ३०४ र राष्ट्रिय स्वतन्त्र पार्टी १७१ मत छ।
Shares

प्रतिक्रिया