तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत आगामी निर्वाचनका लागि जाजरकोटबाट चौथो पटक उम्मेदवार छन्।
संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ र २०७९ को आम निर्वाचनबाट सांसदमा निर्वाचित भएर बस्नेतले ‘ह्याट्रिक’ पार गरेका थिए।
बस्नेत विभिन्न समयमा गरी संघीय सरकारको स्वास्थ्य मन्त्री, गृहमन्त्री, वन तथा वातावरण र उर्जा तथा जलस्रोतमन्त्री समेत भइसकेका छन्। सरकारका विभिन्न मन्त्रीपदमा बसेर लामो अनुभव प्राप्त गरिसकेका भेरी नगरपालिका–१ कालेगाउँका बस्नेत आगामी निर्वाचनका लागि नेकपाबाट पुनः उम्मेदवार छन्।
बस्नेतलाई ०७४ र ०७९ को निर्वाचनमा गठनबन्धनको बल थियो। ०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन र ०७९ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भएको गठबन्धनबाट उनले चुनाव जितेका थिए।
तर, आगामी निर्वाचनमा जाजरकोटमा तत्कालीन माओवादी केन्द्र र समाजवादी सहितको नेकपा र अन्य दलहरू छुट्टा–छुट्टै प्रतिस्पर्धामा छन्।
बस्नेत मन्त्री हुँदा जिल्लाका लागि भनेजस्तो विकास नगरेको आरोप लगाउनेहरूको पनि कमी छैन। तर, बस्नेत जाजरकोटवासी जनताले दिएका धेरै कार्यभार पूरा गर्न अझै बाँकी रहेको दाबी गर्छन्। पुरानै प्रतिवद्धता पूरा गर्न पुनः मैदानमा आएको उनले बताए।
‘जाजरकोटवासीको जीवनस्तर उकास्न र यहाँको विकास र समृद्धिको यात्रालाई थप उचाइमा पु¥याउन पुनःमैदानमा उत्रिएको छु’ उनले भने।
०७४ मा एमाले र माओवादीबीचको गठबन्धनबाट उम्मेदवार बनेका बस्नेतले ३२ हजार २८१ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए।
यस्तै, गत निर्वाचनमा पनि बस्नेतले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे। बस्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए।
आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य डम्बरहादुर सिंहलाई उठाएको छ। पार्टीका युवा नेता निरज आचार्यले टिकट पाउने चर्चाकाबीच सिंहलाई उम्मेदवार बनाएर मैदानमा उतारेको हो।
०७० सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंह बस्नेतसँग पराजित भएका थिए। आगामी निर्वाचनमा त्यसको बदला लिने दाउमा छन्।
०७९ को निर्वाचनमा प्रदेशसभामा निर्वाचन लडेका सिंह गठबन्धनबाट उम्मेदवार कांग्रेसका वेदराज सिंहसँग पराजित भएका थिए। कांग्रेसका सिंहले १८ हजार ५४३ मत प्राप्त गरी विजयी हुँदा उनले ११ हजार ४७० मत मात्रै प्राप्त गरे।
शिक्षक पेशा छोडेर एमालेको राजनीतिमा जोडिएका सिंह लामो समयदेखि पार्टीको काम गरिरहेका छन्।
‘एक दशकभन्दा बढी एमाले जिल्ला कमिटी जाजरकोटको अध्यक्ष भएर पार्टी संगठनलाई गाउँ–गाउँसम्म विस्तार गरेको छु’, उम्मेदवार सिंहले भने, ‘सोही समयदेखि कार्यकर्तामा आशा र भरोसा जगाउने काम गरेको छु। सत्तामा हुँदा पनि र नहुँदा पनि जनतासँगै छु। म कुनै विवादमा फसेको पनि छैन।’
त्यस्तै, कांग्रेसले युवानेता खडकबहादुर बुढालाई उम्मेदवार बनाएको छ। बुढा संसदीय निर्वाचनमा नयाँ अनुहार हुन्। नेपाल विद्यार्थी संघबाट राजनीतिको यात्रा तय गरेका शिवालय गाउँपालिका निवासी बुढा हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटको उपसभापतिको जिम्मेवारीमा छन्।
०६४ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए।
जेनजी आन्दोलनपछि हुन लागेको आगामी निर्वाचनका लागि जाजरकोटबाट आफू योग्य उम्मेदवार भएको बुढाले दाबी गरे। ‘जेनजी युवा पुस्ताको मागअनुसार नै म चुनावी मैदानमा छु’ उनले भने।
आफू युवा उम्मेदवार भएको र त्यसैमा पनि विगतको निर्वाचनमा कांग्रेसको जनमत अन्य दलभन्दा धेरै भएकाले चुनाव जितिनेमा कुनै शंका नभएको बुढाले दाबी गरे।
नेकपाबाट बस्नेत, एमालेबाट सिंह र कांग्रेसबाट बुढासहित जाजरकोटबाट ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राघब कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णविक्रम शाह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भेषबहादुर ओली, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट कमान बुढा मगर, नेकपा माओवादीबाट बमबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट रखबहादुर खड्का र नेपाल मजदुर किसान पार्टीबाट धनीराम जैशी मैदानमा छन्।
अन्य जिल्लामा जस्तो जाजरकोटमा रास्वपा र राप्रपाको प्रभाव भने त्यति देखिँदैन।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको धेरै मत पाएको छ। एमालेले २४ हजार ४ मत पाएको छ। कांग्रेसले २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र समाजवादीले २ हजार ३३४ मात्रै मत पाएका छन्।
समानुपातिक मतका आधारमा जाजरकोटमा नेपाली कांग्रेसले आफ्नो बलियो उपस्थिति देखाएको छ। नेपाली कांग्रेसले २२ हजार ९३४ मत प्राप्त गर्दै पहिलो नम्बरमा छ।
१९ हजार ७४९ मतसहित नेकपा एमाले दोस्रो, नेकपा (माओवादी केन्द्र) १४ हजार ४१२, नेकपा एकीकृत समाजवादीले ७८६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले ५९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५३९ मत मात्रै प्राप्त गरेको छ।
एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा १ लाख ७ हजार ९१ मतदाता, ८८ वटा मतदान स्थल र १४६ वटा मतदान केन्द्र तोकिएका छन्।
Shares

प्रतिक्रिया