कर्णाली


जुम्लाः ज्ञानेन्द्र शाहीले भत्काएको ‘गढ’ फर्काउने कसरतमा नरेश भण्डारी

जुम्लाः ज्ञानेन्द्र शाहीले भत्काएको ‘गढ’ फर्काउने कसरतमा नरेश भण्डारी

दिनेश बुढा
माघ १४, २०८२ बुधबार २०:४२, सुर्खेत

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भए। उनले त्यतिबेला नेपालखबरसँगको संवादमा भनेका थिए, ‘जुम्लामा चार दलका कार्यकर्ता मेरो प्रचारमा छन्।’ 

शाहीले नतिजा पनि हात पारे। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन दल मिलेर बनेको वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराए। 

गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) पराजित बनिन्। गोमालाई १० हजार ८६० मतान्तरले हराउँदै शाही पहिलो पटक सांसद बने। शाही २२ हजार ८१९ मतसहित विजयी हुँदा कुँवरले ११ हजार ९५९ मत पाइन्। एमालेका रतननाथ योगीले ६ हजार ५२८ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत पाए। 

गठबन्धनभित्र र स्वयम् माओवादीभित्रको आन्तरिक विवादको फाइदा शाहीले उठाए।

२०७९ मा गठबन्धनबीच जुम्लाको टिकट कसले पाउने भन्ने विषयमा खिचातानी भयो। नेपाली कांग्रेस र माओवादी दुईवटै दलले टिकटका लागि दाबी गरे। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका युवा नेता मनऋषि धिताललाई टिकट दिए।

तर, उनी काठमाडौँबाट सुर्खेत नपुग्दै माओवादी केन्द्र कर्णाली प्रदेशले टिकट खोसिदियो। धितालको टिकट गोमालाई दिइयो। त्यसपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्यो त्यसको फाइदा पनि शाहीले नै उठाए।

२०६४ सालदेखि नेकपा माओवादी केन्द्रको गढ मानिएको जुम्ला शाहीले भत्काइदिए। गत निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लाका १२ मध्ये ११ वटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए। तर, शाही कमजोर संगठन भएको जुम्लाबाट विजयी भए। उनी कर्णालीमा गठबन्धनका उम्मेदवार हराउने एक्ला नेता थिए।  

यस पटकको निर्वाचन पनि रोचक बन्ने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाता फकाउन उम्मेदवारहरू गाउँ–गाउँ छिरेका छन्।

राप्रपाबाट उनै शाही, नेकपाबाट नरेश भण्डारी, नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल लगायत १० उम्मेदवार मैदानमा छन्। 

शाहीलाई आगामी निर्वाचन पहिलो जस्तो सहज भने पक्कै हुने छैन। यस पटक नेकपाले पूर्वमाओवादी केन्द्रका नेता नरेश भण्डारीलाई चुनावी मैदानमा उतारेको छ। ०६४ सालको निर्वाचनमा भण्डारीले २१ हजार १२७ मतसहित चुनाव जितेका थिए। उनले हराएका कांग्रेस उम्मेदवारले १२ हजार हाराहारीमा मत पाएका थिए।

०७४ को प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका भण्डारी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए। २०७९ मा पनि प्रतिनिधिसभा निर्वाचनमा लड्न चाहेका उनले टिकट पाएनन्। त्यसपछि उनी मसिनो गरी पार्टीकै गतिविधिमा संलग्न रहे।

यस्तै, एमालेबाट हालसम्म चुनाव नलडेका नयाँ अनुहारका महत उम्मेदवार छन्। जुम्ला ०५६ सालबाट हालसम्म एमालेले चुनाव जित्न सकेको छैन। समानुपातिकमा राम्रो जनमत रहेको एमाले प्रत्यक्ष प्रस्पिर्धामा दोस्रो–तेस्रो स्थानमा खुम्चिँदै आएको छ। 

‘विगतका कमिकमजोरीलाई सच्चाउँदै एमाले अगाडि बढेको छ’, एमाले जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार महतले भने, ‘पार्टीभित्र कुनै समस्या छैन। म आजसम्म कुनै दाग नलागेको नेता हुँ। जुम्लाका जनताले नयाँ अनुहार खोजेका छन्। त्यसमा म पनि नयाँ हुँ।’

यता, अहिले चर्चामा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महिला उम्मेदवार उठाएको छ। गत निर्वाचनमा समानुपातिक सांसद बनेकी बिनिता कठायत अहिले प्रत्यक्ष उम्मेदवार छिन्।

‘गत भदौ २३/२४ गतेको घटनाले जुम्लाका सबै नागरिकलाई बोध भइसकेको छ। सबैलाई ‘चेन्ज’ चाहिएको छ’, बिनिताले भनिन्, ‘पुराना दलहरूबीचमा देश बनाउने चिन्ता  भन्दा रिस र घमण्ड मात्रै छ। त्यसैले जुम्लाका मतदाताले पनि परिर्वतन खोजिरहेका छन्।’

रवि–बालेनको एकतापछि देशको बागडोर युवाको हातमा जानुपर्छ भन्ने कुरा जुम्लाका गाउँ–गाउँका नागरिकहरूले बुझेको बताउँदै भोट आफ्नो पक्षमा आउने उनको दाबी छ। 

नेपाली काग्रेसले दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। २४ वर्षको उमेरदेखि राजनीति सुरू गरेका शाही २०४९ सालमा तत्कालीन कालिकाखेत गाविसको अध्यक्ष बनेका थिए। त्यसपछि २०५४ मा पनि अध्यक्षमै दोहोरिए। 

बाल्यकालदेखि राजनीतिमा होमिएका शाहीले कुनै ठूलो अवसर नलिएको बताउँछन्। ‘म बाल्यकालदेखि नै जुम्लाको बाटो बुझ्दै राजनीतिमा लागेँ। हालसम्म कुनै अवसर मिलेको छैन’, उनले भने, ‘पार्टीले यो पटक अवसर दिएको छ। मतदाताले माया गरिदिनुहुन्छ भने विश्वास लिएको छु।’

शाही २०५४ सालमा तत्कालीन विद्रोही माओवादीले भौतिक कारबाही गरेको बताउँदै द्वन्द्वकालीन घाउहरू लिएर घरदैलोमा पुग्दा मतदाताहरूको सकारात्मक प्रतिक्रिया आएको दाबी गर्छन्।  

जनार्दन शर्माले गठन गरेको नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वमाओवादी केन्द्रका युवा नेता अर्थात् गत निर्वाचनमा टिकट खोसिएका उनै धिताल उम्मेदवार छन्। पूर्वपत्रकार तथा लेखक समेत रहेका धितालले पूर्वमाओवादीका मत तान्ने आकलन गरिएको छ। पूर्वमाओवादी पृष्ठभूमीका भण्डारी र धिताल फरक कित्तामा उभिँदा मतपरिणाम पनि फेरबदल हुनसक्ने नेताहरू बताउँछन्। 

यस्तै, यहाँ नेमकिपाबाट विर्खबहादुर रावत, नेजपाका रनिल विक्रम शाही, नेकपा (माओवादी)बाट बिर्खबहादुर शाही र स्वतन्त्रबाट भक्तबहादुर रावल पनि मैदानमा छन्। 

गत निर्वाचनमा एमाले तथा गठबन्धनका उम्मेदवारका लागि चुनौतीका रूपमा खडा भएका राप्रपाका शाहीलाई आगामी निर्वाचनमा भने मत जोगाउन चुनौती थपिएको छ। तर, शाही आफ्नो लोकप्रियता कायम रहेको दाबी गर्छन्। ठूला भनिने दलहरूसँग टक्कर दिन पुनःमैदानमा उत्रिएको उनको भनाई छ।

२०७४ सालको निर्वाचनमा जुम्लाबाट प्रतिनिधि सभामा माओवादीका गजेन्द्रबहादुर महत २२ हजार १७३ मतसहित निर्वाचित भएका थिए। त्यतिबेला महतले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई पराजित गरेका थिए। शाहीले १४ हजार १४९ मत प्राप्त गरेका थिए। उक्त विरासत फर्काउन अहिले भण्डारी कसरतमा छन्।

२०७९ सालमा दलहरूको पाएको समानुपातिक मतपरिणामलाई विश्लेषण गर्दा भने एमाले अग्र स्थानमा छ। एमालेको १० हजार ५४८ भोट आउँदा १० हजार ४७६ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)को ८ हजार ९६० मत रहँदा शाहीको पार्टी राप्रपाले ५ हजार ७९६ मत प्राप्त गरेको छ।

अहिले पुराना भनिएका दलहरूलाई चुनौती दिँदै देशभर फैलिएको रास्वपाको मत भने जुम्लामा ८९९ मात्रै छ। 

अगामी निर्वाचनका लागि जुम्लामा ७१ हजार ७३९ मतदाता छन्। ८३ मतदान स्थल र १०८ मतदान केन्द्रबाट मतदाताले यिनै अनुहारमध्ये एक जनालाई आफ्नो नेता छान्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad