कर्णाली


कालीकोटमा महेन्द्रलाई जनयुद्धका सारथीको टक्कर, मौका हेर्दै एमाले-कांग्रेस

कालीकोटमा महेन्द्रलाई जनयुद्धका सारथीको टक्कर, मौका हेर्दै एमाले-कांग्रेस

दिनेश बुढा
माघ १३, २०८२ मंगलबार १६:१०, सुर्खेत

प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि कालीकोटबाट १० जना उम्मेदवार यतिबेला चुनावी मैदानमा छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका हर्षबहादुर बम, नेकपा एमालेका नगिन्द्र शाही, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ , राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, राप्रपाका सूर्यबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी तथा स्वतन्त्र उम्मेदवारहरू मानबहादुर तिरुवा र अस्मिनकुमार विष्टबीच प्रतिस्पर्धामा हुँदै छ।

१० जना उम्मेदवारमध्ये चार दल नेकपा, कांग्रेस, एमाले  र नेकपा (माओवादी)का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका थिए। माओवादीको ‘लालकिल्ला’ मानिने कालीकोटबाट महेन्द्रलाई एमालेका नगिन्द्र शाहीले टक्कर दिएका थिए। शाही २३ हजार ७२७ मतसहित विजयी हुँदा नगिन्द्रले १६ हजार ७१८ मत ल्याए।

विगतमा पाँच दलीय गठबन्धनबाट चुनाव जितेका शाहीलाई आगामी निर्वाचन जित्न त्यति सहज भने छैन। किनभने यतिबेला दलहरू एक्लाएक्लै चुनावी मैदानमा छन्। अझ सशस्त्र संघर्षमा सँग–सँगै होमिएका पूर्वसहकर्मी प्रकाण्ड पनि चुनावी मैदानमा छन्। दुवैजना जनयुद्धका कमान्डरसमेत हुन्।

पूर्वलडाकुको लडाईंमा एमाले–कांग्रेसको दाउ
नेकपाका शाही संसदीय यात्रालाई निरन्तरता दिन चुनाव जित्ने रणनीतिमा छन् भने १८ वर्षपछि चुनावी मैदानमा उत्रिएका नेकपा (माओवादी) का विश्वकर्मा पूर्वसहकर्मी शाहीलाई हराएर संसद छिर्ने दाउमा छन्। तर, यी दुई नेकपा नेताबीच भिडन्त हुँदा परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन्, कांग्रेस र एमाले।

पूर्व माओवादीको मत दुईतिर तान्ने प्रतिस्पर्धाबाट फाइदा लिने पक्षमा एमाले-कांग्रेस देखिन्छन्।

हर्षबहादुर बम
नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बम पहिलो पटक संसदीय चुनाव लड्दैछन्। कालीकोटमा कांग्रेसको अभाव खट्किएको बताउने उम्मेदवार बम त्यो अभाव अब जनताले आफूलाई मत दिएर पूरा गर्ने दाबी गर्छन्।

कालीकोटमा कांग्रेस जिल्ला कार्यसमिति बैठक बसेर चुनावी प्रचार–प्रसारलाई व्यापक बनाउने तयारी भइरहेको उनले बताए। 

‘आज बैठक बस्दै छ। ९ वटा पालिका र ८२ वटा वडाका नेताहरूलाई जिम्मेवारी तोकिने छ’, बमले भने, ‘विगतदेखि अन्य दलले कब्जा गरेको कालीकोटमा कांग्रेसको अभाव खट्किएको महसुस जनताले गरेका छन्। यही नै मेरो जित्ने आधार हो।’

बमले नागरिकका आधारभूत आवश्यकताहरू उस्तै भएकाले ती न्यूनतम कामहरू गर्नका लागि आफू मैदानमा उत्रिएको बताए। 

बम २०४९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा जोडिएका थिए। त्यसपछि २०५१/०५२ मा सुर्खेत बहुमुखी क्याम्पसमा नेविसंघको इकाई सदस्य भएर काम गरे। नेपाल तरुण दलको जिल्ला सचिव हुँदै पार्टीको कार्यालय सचिव, २०६१ मा जिल्ला कार्यसमिति सचिव, १३औँ महाधिवेशनबाट जिल्ला सभापति भएर काम गरेका थिए। 

नगिन्द्र शाही 
नेकपा एमालेका उम्मेदवार शाही लामो समयदेखि कालीकोटको माटो, बाटो चिनेको र पछिल्लो युवा पुस्ताका माझ लोकप्रिय रहेका कारण आफूलाई जनताले निर्वाचित गर्ने दाबी गर्छन्।

‘किशोर अवस्थादेखि राजनीति सुरु गरेको म आजसम्म निरन्तर जनता तथा मतदाताको बीचमा प्रत्यक्ष संवादमा छु। मेरो पहिलो पुँजी त्यही हो’, उनले भने, ‘म समाजको विषयवस्तुसँग, जनजीवन, भूगोल, जडिबुटी, जल, जमिन र जनसंख्यासँग घुलमिल छु, अपडेट छु। म कालीकोटमा टेस्टेट जनप्रतिनिधि पनि हैन।’

शाहीले आफूलाई जिताएका मतदाताको मतको तौलको भारलाई कम हुन नदिने र राष्ट्रिय राजनीतिमा कालीकोटको भरोसा मर्न नदिने दाबी गरे। 

एमाले जिल्ला कमिटीको सदस्य हुँदै विभिन्न जिम्मेवारीमा रहेर अध्यक्ष भएका शाही हाल पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको भूमिकामा छन्। 

खड्गबहादुर विश्वकर्मा
तत्कालीन नेकपा माओवादीका नेता शाही २०६४ मा भएको संविधान सभा निर्वाचनमा कालीकोटबाट विजयी भएका थिए। प्रकाण्ड १० वर्षे सशस्त्र युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्यूरो इन्चार्ज भइसकेका नेता हुन्। त्यो बेला उनी भेरी–कर्णाली जनसरकार प्रमुखसमेत थिए।

तत्कालीन समयमा शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि प्रकाण्ड इन्चार्ज भए। माओवादी जनयुद्धलाई मलजल गर्न महत्वपूर्ण भूमिका निभाएका प्रकाण्ड शान्ति प्रक्रियापछि पहिलो संविधान सभामा निर्वाचित हुँदै मन्त्री समेत बने। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएर मोहन वैद्यसँगै अलग्गिएका विश्वकर्माले वैद्य नेतृत्वको पार्टी विभाजनमा नेत्रविक्रम चन्द ‘विप्लव’लाई साथ दिए। अझै पनि कर्णाली र कालीकोटमा उनको प्रभाव बलियो भएको मानिन्छ। 

‘हार्ने भनेर चुनावमा जाने कुरा हुँदैन’, प्रकाण्डले नेपालखबरसँग भने, ‘म जित्ने विश्वासका साथ उम्मेदवार बनेको छु।’

उनले कालीकोटका जनताले मत परिवर्तन गर्न चाहेको पनि दाबी गरे।

महेन्द्रबहादुर शाही 
नेकपाका उम्मेदवार शाही २०७० सालयता लगतार चुनाव जित्दै आएका छन्। उनी २०७० र २०७९ मा प्रतिनिधिसभा र २०७४ मा प्रदेशसभामा विजयी भए। 

०७० मा प्रतिनिधि सभा सदस्य बनेका शाही ०७४ सालमा प्रदेश सांसद हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए।

०७९ मा गठबन्धनका साझा उम्मेदवार शाहीले २३ हजार ७२७ मत ल्याएर चुनाव जित्दा उनका प्रतिस्पर्धी एमालेका नगिन्द्र शाहीले १६ हजार ७१८ मत पाएका थिए। 

विगतदेखि चुनाव जित्दै आएका शाही आगामी निर्वाचनको नतिजा पनि आफ्नो पक्षमा आउनेमा विश्वस्त छन्। उम्मेदवार शाहीले गृह पालिका पचालझरनामा चुनावी अभियान लिएर नेता–कर्याकर्तासहित पुगेको बताए।  

यस्तो छ, हिसाब 
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा माओवादी पहिलो छ। माओवादी केन्द्रले १८ हजार ३४७ मत पाएको थियो।

यहाँ नेपाली कांग्रेसले १२ हजार ८२०, नेकपा एमालेले १२ हजार ६१३ र नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ५०३ मत पाएका थिए ।

२०७९ को आम निर्वाचनमा कालीकोटमा समानुपातिक मतको भार माओवादी केन्द्रको १४ हजार २२९, एमालेको १२ हजार ५६४, कांग्रेसले १० हजार ५८५, एकीकृत समाजवादीको २ हजार ५३, नेपाल मजदुर किसान पार्टीको १ हजार ३४०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार २७३ र राष्ट्रिय स्वतन्त्र पार्टीको ६०१ मत छ। 

यद्यपी अहिलेको परिस्थितमा विगतको मतलाई मात्रै आधार मानेर मूल्यांकन गर्न कठीन छ। मतदाताकाे रोजाइमा कस्ता उम्मेदवार पर्लान्? या आगामी निर्वाचन परिणाम कस्को पक्षमा आउला? कालीकोटका १० जना उम्मेदवारको राजनीतिक भविष्य १०३ मतदानस्थल र १२७ मतदान केन्द्रमा भोट खसाल्ने ८४ हजार ६४६ मतदाताको हातमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad