कर्णाली


सुर्खेत-१ : पूर्णबहादुरले मैदान खाली गर्दा भाइलाई अवसर, कांग्रेससँग बदला लिने दाउमा एमाले

सुर्खेत-१ : पूर्णबहादुरले मैदान खाली गर्दा भाइलाई अवसर, कांग्रेससँग बदला लिने दाउमा एमाले

दिनेश बुढा
माघ १०, २०८२ शनिबार २२:५, सुर्खेत

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का आगामी निर्वाचनमा उम्मेदवार छैनन्। २०४८ सालदेखि कहिले समानुपातिक, कहिले प्रत्यक्षतर्फ चुनाव लड्दै आएका उनी यसपाली फागुन २१ गते हुने निर्वाचनको भिडन्तबाट बाहिर छन्। 

पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्री भइसकेका खड्काले विगत ३ दशकबढी समयदेखि चुनाव लड्दै आएको मैदान खाली गरेपछि उनका कान्छा भाइ विष्णुबहादुर खड्का कांग्रेसबाट उम्मेदवार बन्ने अवसर पाएका छन्। 

सुर्खेत-१ मा कांग्रेसबाट निर्विकल्प उम्मेदवार बन्दै आएका खड्काले पार्टीको आन्तरिक समस्याका कारण आगामी फागुनको निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्। तर, खड्काको नाम यस क्षेत्रबाट प्रतिनिभिसभा निर्वाचनका लागि एकल सिफारिस भएको थियो। 

पूर्णबहादुर पार्टीको आन्तरिक समस्यालाई लिएर अदालत धाईरहँदा उनका आफ्नै भाइ विष्णु भने चुनावी मैदानमा छन्। यता एमालेले २०७९ को निर्वाचनमा पूर्णबहादुर खड्कासँग पराजित भएका ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ। उनले हारको बदला लिने दाउ पर्खिएका छन्। 

यस्तै, पूर्णबहादुर २०४८ सालदेखिका सबैजसो संसदीय निर्वाचनमा भाग लिँदै आएका थिए। ०४८, ०५१, ०५६, ०७०, ०७४ र ०७९ मा उम्मेदवार बनेका खड्का ०६४ सालमा भने समानुपातिक सभासद् थिए।

पूर्णबहादुरले २०७४ मा सम्पन्न निर्वाचनमा पराजय भोगेका थिए। सुर्खेत–१ बाट २०४८, ०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए। तर, २०६४ सालको संविधानसभा निर्वाचनमा भने लालबहादुर घले संविधान सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए। तर, घलेले त्यो बेला नेकपा (एमाले)की कमला शर्मासँग पराजित भएका थिए।

त्यतिबेला खड्का भने समानुपातिक सांसद बने। 

२०७० सालको संविधानसभा निर्वाचनमा खड्काले कमब्याक गरे। २०७४ मा तत्कालीन वाम गठबन्धन नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीसँग खड्का पराजित भए। 

३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। ०७४ को आम निर्वाचनमा ३ हजार ३८२ मतले पराजित भएका खड्का एमालेका शाहीलाई पराजित गर्दै ०७९ को निर्वाचनमा आफ्नो शाख फर्काउ सफाल भए।

०७९ मा कांग्रेसका खड्काले ४२ हजार ६०७ मतसहित चुनाव जित्दा शाहीले ३० हजार ९८८ मत पाए।

यस्तै, आगामी निर्वाचनमा प्रमुख राजनीतिक दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएकाले यस क्षेत्रलाई चासोको रुपमा हेरिएको छ।  

एमालेबाट उम्मेदवार बनेका ध्रुवकुमार शाहीबाहेक दुवै क्षेत्रमा नयाँ अनुहार छन्। शाही नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिव हुन्।

शाहीसँगको प्रमुख प्रतिस्पर्धामा नेपाली कांग्रेसका विष्णुकुमार खड्का छन् भने नेकपाका उम्मेदवार जीतबहादुर रानाले पनि एमाले कांग्रेसका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। 

यस्तै, राप्रपाबाट जेनजी अभियन्ता रविकिरण हमाल, रास्वपाबाट टेकबहादुर सिंह र उज्यालो नेपाल पार्टीबाट ठम्मर विष्ट लगायत १३ जना उम्मेदवार छन्। 

दाइ पूर्णबहादुर खड्काको विरासत जोगाउन मैदानमा उत्रिएका भाइ विष्णु पेशाले व्यवसायी हुन्। उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पेट्रोल पम्पको स्टोरदेखि यातायात व्यवसायी सञ्चालन गरेका छन्। 

युवा–व्यवसायिहरुमा लोकप्रिय रहेका युवा नेता विष्णुबहादुर पार्टीको राजनीतिक जिम्मेवारीका हिसाबले नेपाली कांग्रेस जिल्ला समिति सुर्खेतको उप–सभापति हुन्। 

यस्तै, नेकपाबाट उम्मेदवार बनेका युद्धकालका लडाकु जीतबहादुर राना, रास्वपाका टेकबहादुर सिंह, राप्रपाका युवा नेता रविकिरण हमाल तथा नेकपा एमालेको केन्द्रीय सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका ठम्बरबहादुर विष्टलगायत नेताहरूले पनि मत तान्ने सम्भावना रहेको छ।

तर, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले भने कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रमा यी तीन दलबीच नै मुख्य प्रतिस्पर्धा हुने दाबी गर्दै आएका छन्।

२०७९ को मतभार
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुर्खेत–१ मा पर्ने वडामा दलले प्राप्त गरेको मतलाई हेर्ने हो नेपाली कांग्रेस बलियो छ।

सुर्खेत-१ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका-१५ र वीरेन्द्रनगर-१६ को भूगोल समेटिएको छ।

स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत-१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। 

जससमा कांग्रेसले ३६ हजार ९२८ मत प्राप्त गरेको छ। वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार ८४३ मत प्राप्त गरेको छ।

तत्कालीन माओवा केन्द्रदीले ५ हजार ७५ मत, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad