युरोपेली मुलुक पोल्यान्डमा उपचारका क्रममा मृत्यु भएका झापा घर भएका गोपालबहादुर लिम्बू शेर्माको शव शनिबार नेपाल पठाइएको छ।
झापाको कमल गाउँपालिका-६, पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय लिम्बू एसडब्ल्यू आग्नेय मेखोवे अस्पतालमा उपचारका क्रममा यही जनवरी १० का दिन बितेका थिए। उच्च रक्तचापका बिरामी गोपाललाई गत अगस्टमा अचानक मस्तिष्काघात भएको थियो। उनी ६ महिनादेखि कोमामा थिए।
'मृतक गोपाल बहादुर लिम्बू शेर्माको शव कतार एयरलाइन्सको उडानबाट आज (शनिबार) नेपाल पठाइएको छ,’ जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले नेपालखबरसँग भने, ‘शव २५ तारिख अपराह्न ४:२५ बजे काठमाडौँ पुग्ने उडान तालिका रहेको र यसको जानकारी मृतकका परिवारलाई गराइसकिएको छ।'
यसैबिच मृतक गोपालका भतिज दिनेश लिम्बू शेर्माले काकाको शव नेपाल पठाउन सहयोग गर्ने सबैलई धन्यवाद दिएका छन्।
'शव नेपाल पठाउन सहजीकरण गरिदिनु हुने जर्मनीको नेपाली राजदूतावास, नेपाली अवैतनिक वाणिज्यदूतावास वारसालगायत सबैलाई धन्यवाद छ', पोल्यान्डमा गोपालसँगै काम गर्ने दिनेशले नेपालखबरसँग भने।
नेपालबाट रोमानिया आएका गोपाल २०२५ अप्रिल १६ मा पोल्यान्डमा थिए। यसको क्राको सहरस्थित ग्रान्ड प्लस एजेन्सीमा उनी फलफूल तथा हरियो सागपात प्याकेजिङ गर्ने वेयर हाउसको काम गर्थे।
Shares

प्रतिक्रिया