गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी (नवयुवा) ले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा सरकारले दमन गर्दा प्रहरीको गोलीले १९ युवा मारिएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन झन् चर्कियो।
उक्त दिन कर्णाली प्रदेशमा पनि जेनजी प्रदर्शनले उग्र रूप लियो। प्रहरीले आन्दोलन नियन्त्रणमा लिन गोली चलायो। गोली लागेर प्रदेशभर १३ जना घाइते भए।
कर्णाली प्रदेश प्रहरीका अनुसार घाइते १३ जनामध्ये अधिकांश अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
तर सुर्खेतको वीरेन्द्रनर नगरपालिका-२, खौरी गाउँका २७ वर्षीय सन्तोष बोहोराको अवस्था अझै चिन्ताजनक छ।
उनी वीरेन्द्रनगरमा भएको जेनजी आन्दोलनमा सहभागी हुँदा प्रहरीले हानेको गोली लागेर घाइते भएका हुन्।
डाक्टरका अनुसार सन्तोषको टाउकोमा गम्भीर चोट छ भने दुईवटै आँखा ‘ड्यामेज’ भएका छन्।

सन्तोषकी ४८ वर्षीया आमा यामकुमारी बोहोराका अनुसार सन्तोषलाई भदौ २४ गते दिउँसो २ बजेतिर गोली लागेको थियो।
उनले भनिन्, ‘पहिला मैलाई विश्वासै लागेन, बुहारीको मोबाइलमा निरन्तर फोन आयो- प्रदेश अस्पतालमा आउनू, तपाईंको मान्छेलाई यस्तो-यस्तो भएको छ। छोरालाई फोन गर्दा लागेन।
पछि श्रीमान्लाई छोरोको हात भाँचिएको छ भनेर खबर आएको यामकुमारीले बताइन्।
‘तर, उहाँलाई पनि विश्वास लागेन। त्यसपछि साथीहरूले सन्तोषको फोटो नै पठाएपछि उहाँ अस्पताल जानुभयो,’ उनले नेपालखबरसँग भनिन्।
साथीहरूले बताएअनुसार सन्तोषलाई वीरेन्द्रनगर नगरपालिका-८, धमला चोक आसपास हुँदा गोली लागेको थियो।
खासमा उनी मंगलगढीचोकनजिक मोटरसाइकल पार्किङ गरेर साथीसँग आन्दोलन गर्न नभई टाढाबाट हेर्न भनेर त्यहाँ पुगेका थिए।
जेनजी आन्दोलन राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गर्दै नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काको घरतर्फ मोडिदै थियो। सन्तोष साथीसँग आन्दोलनकारीको पछिपछि त्यतैतिर लागे।
आन्दोलनकारीहरूले खड्काको घरसँगै रहेको उनका भाइ डाक्टर डम्बर खड्काको घरमा तोडफोड र आगजनी प्रयास गरे। प्रहरीले अश्रुग्यास र हवाई फायर गर्यो। भिड अनियन्त्रित भएपछि प्रहरीले गोली नै चलाउन थाल्यो।
त्यही समयमा भिडभन्दा टाढा रहेका सन्तोषलाई गोली लागेको उनका साथीहरूको दाबी छ।
सन्तोषकी आमा भनि्छन्, ‘धमलाचोक नजिकैबाट हेरिरहेको रहेछ। कताबाट आयो, गोली थाहा नै भएनछ। छोरा एक्कासि ढलेछ। टाउकोबाट रगतको भेल बगेछ।’
उनले थपिन्, ‘कालीकोट बम थर भएको अर्को साथीले सन्तोषको अवस्था नाजुक देखेर नेपाली झण्डाले मुख छोपिदिएछ। त्यहाँ नजिक कोही रहेनछन्। पछि बजारबाट मेरो छोरी गएर तत्काल अटोमा कर्णाली प्रदेश अस्पताल कालाउँ पुर्याएका रहेछन्।’
तर त्यहाँका डाक्टरले यहाँ उपचार सम्भव नहुने भन्दै बाहिर लिन सुझाव दिएपछि घाइते सन्तोषलाई एम्बुलेन्समा नेपालगन्ज मेडिकल कलेजमा लगिएको हो।
सन्तोषको घरमा बुबाआमा, श्रीमती र ४ वर्षीया छोरी छन्। दिदीको बिहे भइसकेको छ। उनी घरका एक्ला छोरा हुन्।
यामकुमारीका अनुसार रोजगारीका लागि विदेश बसेर फर्किएका उनी युरोपियन मुलुक जाने तयारीमा थिए।
उनले भनिन्, ‘पहिला विदेश बसेर आयो। त्यहाँ राम्रो कमाइ भएन्, अहिले फेरि रोमनिया वा क्रोसिया देश जान तयारी गरिरहेको थियो, भिसा आएको थिएन।’
सन्तोषकी श्रीमती २४ वर्षीया निर्मला खड्काले श्रीमान् घाइते हुँदा घरको मुख्य खम्बा नै ढलेको दुखेसो गरिन्।
उनले भनिन्, ‘श्रीमान्को आईसीयूमा उपचार भइरहेको छ। उहाँको टाउकोमा र दुईवटै आँखामा गम्भीर चोट लागेको छ। अस्पतालले आँखाको ज्योति गुमेको बताएको छ। अब सासू, ससुरा, छोरी र घाइते श्रीमान् पाल्ने जिम्मा मेरो काँधमा आएको छ।’
यद्यपि पतिको स्वास्थ्यमा सुधार हुँदै गएको कुरा अस्पतालले जानकारी दिएको उनले बताइन्।
उनले भनिन्, ‘पाइपबाट नरिवल पानी खुवाइरहेका छौँ, अरू केही खान मिलेको छैन। अझै केही सयम उपचार गर्न लाग्छ होला।’
यसैबीच उनले आन्दोलनमा घाइते श्रीमान् सन्तोषलाई भेट्न अहिलेसम्म कुनै पनि जेनजी युवा नआएको गुनासो पनि गरिन्।
Shares

प्रतिक्रिया