कर्णाली


ध्वस्त पार्टी कार्यालयमा कार्यकर्तालाई मुख्यमन्त्री कँडेलले भनेः जेनजीलाई देखाएर व्यवस्था मासिँदैछ

ध्वस्त पार्टी कार्यालयमा कार्यकर्तालाई मुख्यमन्त्री कँडेलले भनेः जेनजीलाई देखाएर व्यवस्था मासिँदैछ

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:४०, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिंगो देश र व्यवस्थाविरुद्ध भएको जिकीर गरेका छन्।

नेकपा एमाले सुर्खेतद्वारा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन र त्यसयता विकसित भएका घटनाक्रमले त्यो पुष्टि गरेको बताए।

मुख्यमन्त्री कँडेलले अझै पनि जेनजी आन्दोलन कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध थियो भनेर बुझ्न थालियो भने धेरै उपलब्धी गुम्दै जाने संकेत गरे।

‘दलका कार्यालय, सरकारी कार्यालय, नेताका घरमात्र जलेनन्, संविधानका धारा पनि मिचिए, अब पनि हामी होसियार नबन्ने हो भने संविधान त के मुलुकको अस्तित्व नै संकटमा पर्दै जानेछ,’ उनले भने, ‘पार्टी कमिटी, पार्टी सदस्यलाई मुलुकमा उत्पन्न परिस्थितिबारे बुझाऔं, इस्यु मिल्ने अन्य दलसँग पनि छलफल गरेर साझा धारणा बनाऔँ, नत्र अझै क्षति भोग्नुपर्ने अवस्था पनि आउनसक्छ।’ 

एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले आन्दोलन अघि यो त सरकारविरुद्धको प्रर्दशन हो भनेर केही दल र केही नेता चुप लाग्दा प्रतिगामी तत्वले तिनीहरूलाई समेत नछोडेको दृष्टान्त प्रस्तुत गरे। 

‘२०७२ को संविधान अर्धमुर्छित अवस्थामा पुगिसकेको छ, सामान्य अवस्थामा हुन्थ्यो भने अदालतले ब्युँझाउन सक्थ्यो, तर आज अदालतले के गर्छ भन्न सकिने अवस्था छैन’, उनले भने, ‘बरु हामी आफ्ना कमी–कमजोरी सच्याउनतर्फ ध्यान दिऔँ, जनविश्वास जित्न आआफ्नो ठाउँबाट राम्रो काम गरौँ, कमजोरीको सम्बन्धित पार्टी कमिटीमा आत्मसमिक्षा गरौँ, त्यसले पार्टी पनि बन्छ र व्यवस्था जोगाउन हौसला मिल्दछ।’ 

एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले विगतमा एमालेविरुद्ध प्रहार गरिरहेको शक्तिले नै यसपटक जेनजीलाई प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्र मास्न थालेको घटनाक्रमलाई सामान्य रुपले बुझ्न नहुने धारणा राखे। कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले प्रतिगामी तत्वले जेनजीका नाउमा हजारौँ पार्टी कार्यकर्ताको लगानीबाट बनेको कार्यालय जलाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad