कर्णालीका चार जना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
२०८१ साउन २० गते नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा उर्जा विकासमन्त्री विजया बुढाको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
राजीवविक्रम शाह
सम्पत्ति विवरण सार्वजनिक भएका मन्त्री मध्ये सबै भन्दा धनी मन्त्री राजीवविक्रम शाह देखिएका छन्। जाजरकोटबाट निर्वाचित अर्थमन्त्री शाहसँग काठमाडौँमा अर्बौंको धन सम्पत्ति छ।
मन्त्री शाहसँग काठमाडौँ महानगरपालिका–११, थापाथली लगायतका क्षेत्रमा करोडौँ मूल्य पर्ने चारवटा घर छन्। चारमध्ये तीन वटा घर शाहको नाममा छन् भने एउटा घर श्री टीआर रियल स्टेट एण्ड लिजिङ कम्पनी प्रालिको नाममा ८० लाख १८ हजार ४५२ रुपैयाँ मूल्यमा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। शाहले आफ्नो नाममा रहेका घर पुर्ख्यौली रहेको बताएका छन्।
यस्तै, शाहसँग काठमाडौँ, काभ्रे र नुवाकोट लगायत विभिन्न ११ ठाउँमा करोडौँ मूल्यको जमिन छ। साथै मन्त्री शाहले काठमाडौँमा रहेको अधिकासं जग्गा पुख्र्यौली रहेको उल्लेख गरेका छन्।
यस्तै, मन्त्री शाहले विभिन्न कम्पनि चलाएका छन्। उनीसँग हिमालय एडभेन्चर, बिल्डरनेस माउन्टेनदेखि सिंह होल्डिगङ्ग इन्भेटमेन्टस प्रालि रहेका छन्।
आठ करोडको हिरा, २ हजार तोला सुनचाँदी
यस्तै, उनीसँग १ करोड ५० लाखका विभिन्न ब्राण्डका घडी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यो सम्पत्ति व्यापार, मामाघरकी हजुरआमा रानी विन्दुदेवी राणाको कालगतिले परलोक भए पश्चायत शेषपछिको बकसपत्र लगायतबाट प्राप्त गरेको उनले जनाएका छन्।
मन्त्री शाहले दुईवटा बैंकमा ३ करोड २३ लाख रकम मौज्दात रहेको, विभिन्न २६ वटा कम्पनीमा सेयर रहेको, विभिन्न ५ वटा बैंकबाट झण्डै २१ करोडभन्दा बढी ऋण लगेकामा ७ करोडभन्दा बढी ऋण तिरिसकेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
घनश्याम भण्डारी
यस्तै, दैलेखको दुल्लु नगरपालिका–८, साहुबाडा निवासी सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँग सोही ठाउँमा पुर्ख्यौली घर छ। उक्त घर उनकी आमा चन्द्रा भण्डारीको नाममा छ।
यस्तै, भण्डारीसँग दुल्लुका विभिन्न ठाउँमा जग्गा रहेको विवरणमा उल्लेख छ। मन्त्री भण्डारीको दुल्लु नगरपालिका–३ का १३ ठाउँमा र वडा नम्बर २ को ७ ठाउँमा भएको पैतृक सम्पत्ति भएको र आमाको नाममा रहेको छ।
यस्तै, मन्त्री भण्डारीको आमाकै नाममासाबिक पादुका गाविस–५, का दुई, साबिक रावतकोट गाविस–५ मा ४ ठाउँमा गर ६ ठाउँमा र उनकी श्रीमती पवित्रा कुमारी खड्काका नाममा दुल्लु, कालभैरव, बडलम्जी गरी तीन ठाउँमा जग्गा रहेको र उक्त जग्गाजमिन पारिश्रमिकबाट जोडेको सम्पत्ति विवरणमा खुलाएका छन्।
मन्त्री भण्डारीसँग भएको ८ तोला सुन, ५ तोला चाँदी पारिश्रमिकबाट जोडेको र केही पुर्ख्यौली रहेको बताएका छन्। २१ लाख ऋणमा रहेका मन्त्री भण्डारीसँग अहिले बैंकमा १ लाख २९ हजार ७ सय रुपैयाँ मौज्दात छ।
सुरेश अधिकारी
यस्तै, सल्यानको शारदा नगरपालिका–२, डाँडागाउँ निवासी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीसँग सोही ठाउँमा घर छ। २ लाख ५० हजार मूल्य पर्ने उक्त घर तत्कालीन समयमा श्रीमतीको तलबभत्ता र आफूले गरेको ठेक्कापट्टाबाट बापत बचत भएको रकमबाट खरिद गरेको उनले उल्लेख गरेका छन्।
मन्त्री सुरेशको नाममा दाङको तुल्सीपुर उपमहानगरपालिका–५, ६, ३ नम्बर वडामा गरि तीन ठाउँमा र अन्य दुई ठाउँमा गरि ५ ठाउँमा जग्गा छ। उक्त जग्गा ठेक्का, पुरानो बेचेर नयाँ लिएको उल्लेख छ।
मन्त्री अधिकारीसँग २५ तोला सुन र २० तोला चाँदी छ। उक्त सुनचाँदी श्रीमतीको दाइजो तथा घर पक्षबाट प्राप्त गरेको उल्लेख छ।
यस्तै, मन्त्री सुरेश र उनकी श्रीमतीको नाममा विभिन्न ७ वटा बैंकमा ११ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको विवरणमा उल्लेख छ। विभिन्न कम्पनिमा सेयर लगानी गरेका मन्त्री अधिकारीले ११ लाख रकम अरुलाई ऋण दिएको र ६० लाख रकम ऋण बैंक तथा सहकारीबाट लिएका छन्।
विजया बुढा
हुम्लाको खार्पुनाथ–१, गोप्का निवासी जलस्रोत तथा ऊर्जाविकासमन्त्री विजया बुढासँग छोरा मिजास बुढाका नाममा हुम्लाको सिमिकोट र बाँकेको नेपालगञ्जमा दुई वटा घर छन्। उक्त घर पारिश्रमिक, व्यापार, व्यवसाय र ठेक्कापट्टाबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै, मन्त्री बुढाको नाममा व्यापार, व्यवसाय, ठेक्कापट्टादेखि केही ऋण सापट गरेर खरिद हुम्ला, बाँके र सुर्खेतमा गरी ६९ लाख पर्ने ५ वटा ठाउँमा जग्गा छ। उनीसँग २५ तोला सुन, १५० तोला चाँदी र १५ तोला मुगा छ। उक्त सम्पत्ति पनि पारिश्रमिक, व्यापार, व्यवसाय र केही दाइजोबाट प्राप्त गरेको विवरणमा उल्लेख छ।
विभिन्न सहकारी, बैंक तथा होइड्रोपावर गरी ९ ठाउँमा सेयर लगानी गरेकी मन्त्री बुढाको व्यापार–व्यवसायदेखि ठेक्कापट्टाबाट विभिन्न ७ वटा बैंकमा २३ लाख रकम मौज्दात छ।
Shares

प्रतिक्रिया