कर्णाली


दसैँका लागि हिमाली जिल्लाबाट सुर्खेत झरे भेडा–च्यांग्रा

दसैँका लागि हिमाली जिल्लाबाट सुर्खेत झरे भेडा–च्यांग्रा

दिनेश बुढा
असोज २१, २०८१ सोमबार १८:३९, काठमाडौँ

कर्णाली प्रदेशका हिमाली जिल्लाबाट भेडा–च्यांग्रा सुर्खेत आइपुगेका छन्। बडादसैँ र तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीहरूले भेडाच्यांग्रा कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेत भित्र्याएका हुन्। 

वीरेन्द्रनगरमा कालीकोट, जुम्ला, मुगु, बाजुरा, अछाम, दैलेख तथा जाजरकोट, सल्यान लगायतका जिल्लाबाट मासुका लागि भेडा, च्यांग्रा र खसी आयात हुने गर्छन्।

यसपटक कालिकोट, जुम्ला, मुगु लगायतका जिल्ला विभिन्न लेकबाट भेडाच्यांग्रा वीरेन्द्रनगर ल्याइएको छ। पछिल्लो समय कर्णालीका उच्च लेकाली भेगमा पालिने भेडाच्यांग्राको माग बढ्न थालेपछि भेडापालक किसान तथा मासु व्यवसायीले हप्तौँ समय लगाएर सुर्खेत, नेपालगन्ज, बुटवल लगायतका सहरमा पुर्‍याएका छन्।

दैलेखको महाबु गाउँपालिका–६ का व्यापारी राजबहादुर शाहीले जुम्लाका विभिन्न गाउँबाट भेडा खरिद गरी प्रदेश राजधानी वीरेन्द्रनगर ल्याइपुर्‍याएका छन्। 

व्यापारी शाहीले जुम्लाबाट १८० वटा भेडा खरिद गरेर सुर्खेत ल्याएको बताए। उनले भने, ‘जुम्लाबाट सुर्खेत हिँड्दा १८० वटा भेडा थिए। बोटोमा पनि बेच्दै हिँडियो। यहाँ आएर पनि केही बेचिसकियो। अब  ५० वटा बचेका छन्।’

दुई दिनअघि मात्रै भेडा सुर्खेत झारेका शाहीले जुम्लाबाट १५ दिन लागेको बताए।

उनका अनुसार, ज्युँदोलाई किलोमा ७ सय रुपैयाँका दरले बेचिएको छ। कसैले किलोका हिसाबले त कसैले हेरेर अनुमानका भरमा मूल्य निर्धारण गरेर किन्ने गरेका छन्।

१५ हजारदेखि ४० हजारसम्मको मोलमा उनले भेडा बेचेका छन्। १५ देखि ४० किलोसम्म तौल छ।

हिमाली तथा पहाडी क्षेत्रका जडिबुटी पाइने पाटनमा चर्ने भएकाले भेडाको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिने र बजारमा माग पनि राम्रत्र रहेको भेडा व्यवसायी बताउँछन्। 

यस्तै, वीरेन्द्रनगर–४, मा रहेको मास्की मासु पसलले भेडाको मासु बेच्दै आएको छ। गत वर्ष झण्डै तीस लाख बराबर मूल्यका एक सय ३० भेडा भित्र्याएर बिक्री गरेको थियो।  

पसलका सञ्चालक यामबहादुर मास्की मगरले चाड पर्व विशेष गरी दसैँ तिहारमा भेडाको मासुको माग अत्यधिक हुन थालेपछि विगत केही वर्ष यता ठूलो परिणाममा भेडा आयात गरि मासु विक्री गरिरहेको जानकारी दिए।

उनले भने, ‘गत वर्ष ३० लाख बराबरको भेडा आयत भएका थिए। यसवर्ष पनि का यामबहादुरले कालीकोटको रास्कोट नगरपालिका, शान्नी त्रिवेणी लगायतका पालिकाबाट गरि १२० भेडा खरिद गरेर ल्याएको छु। केही बेचेर, केही भेडा काटेर मासु विक्री भइरहेको छ। अब ७२ वटा बाँकी रहेका छन्।’

उनका अनुसार जिउँदो भेडाको ६ सयदेखि हेरेर सात सय र काटेको मासुको प्रति किलोग्राम एक हजार मूल्य रहेको छ। पछिल्लो समय कर्णाली मासुमा आत्मनिर्भर बनेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा कर्णालीबाट भण्डै चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका पशुपक्षी निर्यात भएका छन्। 

यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा खसी, बोका र भेडा–च्यांग्रा गरि १ अर्ब २३ करोड ७६ लाख ५९ हजार रुपैयाँ र १ अर्ब ८४ करोड ९० लाख ७० हजार रकम बराबरको पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ कर्णालीबाट निर्यात भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए। 

कर्णालीबाट निर्यात हुने पशुपक्षीहरु नेपागञ्ज, बुटवल, चितवन, काठमाडौं, टीकापुर, पोखरा, वीरगञ्ज, धनगढी र रुकुम पूर्व लगायतका जिल्ला पुग्ने गरेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad