ad ad

कर्णाली


एमाले कर्णालीको विवाद मिल्यो, शाहले लिए मन्त्री पदको शपथ

एमाले कर्णालीको विवाद मिल्यो, शाहले लिए मन्त्री पदको शपथ

नेपालखबर
जेठ ९, २०८१ बुधबार १६:५२, सुर्खेत

कर्णाली प्रदेश सरकार गठनका विषयलाई लिएर नेकपा एमालेका सांसदबीच उत्पन्न विवाद समाधान भएको छ।

एमाले संसदीय दलका नेता तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सांसद विनोदकुमार शाहबीच सरकार गठनमा आन्तरिक विवाद भएको थियो।

उक्त विवाद मिलेसँगै शाहले शपथ ग्रहण गरेका छन्।

बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाललाई शपथ ग्रहण गराएका हुन्।

गत वैशाख १८ गते मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् विस्तार गर्दा एकलौटी गरेको भन्दै शाह शपथ ग्रहणमा सहभागी भएका थिएनन्।

कँडेलले आफ्नै दलमा कुनै पनि छलफल नगरी मन्त्रिपरिषद् विस्तार गरेको शाहको आरोप थियो।

यस्तै, एमालेबाट मन्त्री हुनेहरू पनि आफू कुन मन्त्री हुँदैछु भने कुरा प्रदेश प्रमुख कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए। मुख्यमन्त्री कँडेलले एकलौटी गर्ने र अरूको मनोभावना नबुझी गर्ने निर्णय आफूलाई स्वीकार्य नहुने सांसद शाहको जिकिर थियो। सोही कारण उनी रुष्ट बनेका थिए।

आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित चार एमाले र चार माओवादीले लिएको छ।

भागबन्डाका आधारमा एमालेको भागमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय परेको थियो।

मुख्यमन्त्री कँडेलले शाहलाई कृषि मन्त्रालयको जिम्मा दिएका थिए। शाहले दलभित्र छलफल नगरि एकलौटी गरेको भन्दै शपथ नलिएर काठमाडौं लागेका थिए।

त्यसपछि सरकार गठनका विषयमा मुख्यमन्त्री कँडेलले आफ्नै दलका सांसदलाई मिलाउन नसकेको भन्दै उनी आलोचित भएका थिए।

त्यसपछि मुख्यमन्त्री कँडेलले सांसद शाहलाई आफ्नो सरकारी निवासमा बोलाएर मन्त्रिपरिषद् विस्तार तथा शपथ बहिष्कारको विषयमा छलफल गरेका थिए।
असन्तुष्ट बनेर काठमाडौं गएका शाहलाई मुख्यमन्त्री कँडेलले बोलाएर विवाद मिलाएका हुन्।

छलफलमा पार्टीभित्रको आन्तरिक विवाद मिलेसँगै  शाहले बुधबार भूमि, व्यवस्था तथा कृषि मन्त्रीको शपथ लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .